कार्यालय खोलियो : कार्यादेश नदिँदा तलब बुझ्दै, कार्यालय कुर्दै कर्मचारी

सेवाग्राही मारमा
मंगलबार, कात्तिक २, २०७८

जाजरकोट : आफ्नै घर, आँगनमा यातायात कार्यालय भए पनि काम लिनका लागि सुर्खेत, नेपालगञ्ज र दाङ जानुपर्ने बाध्यता रुकुम पश्चिम तथा जाजकोटका बासिन्दालाई छ । 

रुकुम पश्चिमको चोरजहारीमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरेको २ वर्ष पुगे पनि कार्यादेश नपाउँदा कर्मचारीहरु प्रत्येक महिनाको तलब बुझेर बस्ने कामबाहेक अरु काम नहुने गरेको निमित्त कार्यालय प्रमुख प्रदीपकुमार रेग्मीले बताए । २६ भदौ २०७६ मा स्थापना भएको यस कार्यालयबाट काम नपाउँदा दिनभरी कार्यालय कुरेर कोठा जानुपर्ने बाध्यता आइलागेको रेग्मीले बताए । 

उनले भने, ‘कार्यालय खोल्ने, दिनभरि कुर्ने र बन्द गर्ने काम मात्र भइरहेको छ । कार्यालयलाई कार्यादेश नहुँदा कामविहीन हुनुपरेको छ । कार्यालय स्थापना गरियो, कार्यादेश दिइएन । हामी कामका लागि तयार छौँ । ’

काम गर्नका लागि अधिकार पाउन (कार्यादेश) पटकपटक कर्णाली प्रदेशको यातायात निर्देशनालय, पूर्वाधार कार्यालय, मुख्यमन्त्री कार्यालयलगायतमा आग्रह गरिए पनि सुनुवाइ नभएको कार्यालय प्रमुख रेग्मीले बताए । 

दुई वर्षअघि प्रदेश सरकारले पूर्वाधार मन्त्रालयअन्तर्गत यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीमा राख्ने निर्णय गरेको थियो ।

अहिले यातायात कार्यालयको काम सुर्खेत र जुम्लाबाट मात्र भइरहेको छ । कार्यालय खुलेको लामो समय भइसक्दा पनि काम नहुँदा सुर्खेत, नेपालगञ्ज र दाङ जानुपर्ने बाध्यता भएको स्थानीय राज लामिछानेले बताए । 

कार्यालयमा उपसचिवसहित एक/एक प्रशासन अधिकृत, लेखा अधिकृत, २ जना सुब्बा, खरिदार, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीको दरबन्दी छ । सुरुमा दरबन्दीअनुसारका कर्मचारी कार्यालय पुगेका थिए ।

अहिले विस्तारै कर्मचारी सरुवा मिलाएर अन्यत्र जाँदा ४ जना  कर्मचारी कार्यालयमा कायम रहेको निमित्त कार्यालय प्रमुख रेग्मीले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार