बैंकिङ प्रणालीमा तरलता प्रवाह हुँदै, १० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

बुधबार, कात्तिक ३, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले भोलि (कात्तिक ४ गते)  १० अर्ब रुपैयाँ बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । 
राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार बैंकले आगामी कात्तिक ११ गते परिपक्व हुने १० अर्ब  रुपैयाँ बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।  बजारमा तरलताको अभावले बैंक तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन गर्न ब्याजदर बढाउन थालेका छन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अङ्कको ब्याजदर कायम गरेका थिए । त्यसरी बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारणरूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैंकले मङ्गलबार तीन बुँदे निर्देशन जारी गरेको थियो ।
बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । गत असोज २० गते बैंकले २० अर्ब रुपैयाँ बराबरको १४ दिन अवधिको रिपो जारी गरेको थियो । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुनसकेको छैन ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  २१:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार