फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो 

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं : पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ । 

बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमा पुगेको छ । यसअघि नेपाली टोलीको वरीयता १६८‍औँ रहेको थियो । 

दक्षिण एसियाको वरीयतामा आठौँ पटक साफ च्याम्पियन भारत १०३औँ स्थानसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको माल्दिभ्सको १५६औँ स्थानमा छ । नेपाल तेस्रो स्थानमा रहँदा भुटान १८६औँसहित चौथो स्थानमा छ । 

यस्तै, १८७औँ स्थानसहित बंगलादेश दक्षिण एसियामा पाँचौँ स्थानमा रहँदा फिफा प्रतिबन्धमा रहेको पाकिस्तान १९७औँ स्थानमा छ । साफमा सुधारिएको देखिएको श्रीलंका २०४औँ स्थानमा छ । 

फिफाको नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम छ । यस्तै, ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौँमा इंग्ल्यान्ड रहेका छन् । 

यता, कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना छैटौँ स्थानमा रहँदा स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र डेनमार्क दशौँ स्थानमा छन् ।

नेपाल-इण्डोनेसिया मैत्रीपूर्ण खेल: सुधारको मौका 

छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एक पटक ‘एएफसी यू- २३ एसियन कप २०२२ छनोट’ खेल्दै छ । 

त्यसअघि नेपालले भोलि (शुक्रबार) इण्डोनेसिया यू- २३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यसअघि नै ताजकिस्तानको दुसन्वे पुगेको नेपाली टोली र इण्डोनेसिया एएफसी छनोट खेलअघि तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । 

नेपाल र इण्डोनेसियाबीचको खेल स्थानीय समयअनुसार अपराह्न ४ बजे सुरु हुनेछ । 

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन प्रतियोगिताको पूर्वसन्ध्यामा इण्डोनेसियासँगको मैत्रीपूर्ण खेल टोलीको कमी कमजोरी पत्ता लगाउत हुने र उक्त खेल कमजोरी सुधारको मौकासमेत हुने बताउँछन् । 

‘इन्डोनेसियाविरुद्ध खेलेपछि आफ्नो टिम कस्तो छ ? कुन स्तरमा छ, थाहा हुन्छ’, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका महर्जन भन्छन् । 

यस खेलले नेपाली टोलीको सुरुवाती ११ समेत पहिचान गर्नेछ । ताजकिस्तान उड्नुअघिसम्म नेपाली टोलीले अन्तिम २३ खेलाडी सम्मिलित भएर आफ्नो अभ्यास सत्र बढाउन सकेन । 

माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिप उपविजेता टोलीमा यू- २३ टोलीबाट छ जना खेलाडी रहेका थिए । यी खेलाडी बिहान काठमाडौं अवतरण हुँदा भोलिपल्टै ताजकिस्तान उडे । 

यद्यपि, नेपाली टोलीले ताजकिस्तान पुगेर दुई दिन अभ्यास सत्र बढाइसकेको छ । प्रशिक्षक बालगोपाल इण्डोनेसियाविरुद्ध खेलबाट नेपालको सुरुवाती ११ (प्लेइङ सेट)समेत तय हुने बताउँछन् । 

‘अभ्यास सत्र कम भएकाले सुरुवाती ११ समेत तय गर्न पाएको थिएन । खेलाडीसमेत जम्मा भएका थिएनन् । यस खेलले टिमको सुरुवाती ११ तय गर्नसमेत सहज हुनेछ’, प्रशिक्षक महर्जनले भने । 

यद्यपि, नेपाली टोलीमा १० जना खेलाडीले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । साफ उपविजेता टोलीबाट मनीष डाँगी, आयुष घलान, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, सुमन अर्याल र नितिन थापा रहेका छन् । 

यस्तै, राष्ट्रिय टोलीबाट खेलिसकेका अभिषेक रिजाल, दर्शन गुरुङ, राजन गुरुङ, एरिक बिष्ट र विशाल श्रेष्ठ छन् । राष्ट्रिय टोलीमा विशालले डेब्यु पाएका छैनन् । 

यता, कप्तान तथा गोलरक्षक अर्पण कार्की, शिशिर लेखी, रन्दीप पौडेल, सेसेहाङ आङ्देम्बे, अनिल महर्जन, रोशन पहाडी, राजिव लोप्चन जस्ता खेलाडीले टोलीमा साथ दिनेछन् ।

एएफसी छनोटको समूह ‘बी’मा रहेको नेपालले बलिया इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ । 

नेपालले समूह ‘बी’मा एसियाको शीर्षस्थानमा रहेको इरानसँग ८ कात्तिकमा खेल्नेछ । इराक फिफा वरीयतामा २२औँ स्थानमा छ । 

यता, दोस्रो प्रतिद्वन्द्वी हो आयोजक ताजकिस्तान । फिफा वरीयतामा ११८औँ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले ११ गते खेल्नेछ । 

यस्तै, तेस्रो प्रतिद्वन्द्वी लेवनान ९७औँ स्थानमा छ । लेवनानसँग नेपालले १४ गते खेल्नेछ । नेपाल भने १६८औँ स्थानमा छ ।

यता, समूह 'जी'मा रहेको इण्डानेसियाले एसियाली पावर हाउस अस्ट्रेलिया, चीन र ब्रुनाईसँग प्रतिस्पर्धा गर्नेछ । 
 
ताजकिस्तान उड्नुअघि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पछिल्लो साफमा नेपालले ल्याएको नतिजाबाट एक प्रकारको ऊर्जा रहेको र नेपालले बलियो प्रस्तुति दिने बताएका छन् । 

‘राष्ट्रिय छ खेलाडी र अन्य गरी धेरै खेलाडी छन् । साफ उपविजेता भएर आएकाले खेलाडीमा ऊर्जा छ । सिनियर टोलीबाट खेलिरहेकाले धेरै गाह्रो छैन । कुनै पोजिसनमा अभ्यास अभावका कारण कठिनाइ छ', उनले भने, 'खेलाडी मानसिक रूपमा बलिया छन् । खेलाडीले आफ्नो क्षमताअनुसार खेले भने राम्रो नजिता आउँछ ।’

नेपाली २३ टोली
गोलरक्षक- अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल
डिफेण्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू
मिडफिल्डर- नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट
स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  २०:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार