सोसल मिडिया
Contact Us
युनिकोड
सप्तरी । जिल्लाको शिक्षाको अवस्था दिनप्रतिदिन खस्किँदै गएको बेला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने छात्राको पढाइ खर्च व्यहोर्ने घोषणा गरेको छ । ‘नगरपालिकाले यो निर्णयले सबै छात्राहरू पढ्न पाउने भएका छन्’, पूजाकुमारी रजकले भनिन्, ‘मैले एसईई पास गरेँ, बुबाआमाले अहिलेसम्म पैसा लागेन, पढिस्, अब लाग्छ पढाउन सक्दिनँ भन्नु भएको थियो । अब नगरपालिकाको निर्णयले पढ्न पाइयो ।’ खासगरि मध्यम, विपन्न, दलित तथा मुस्लिम समुदायका छात्राहरू अहिले पनि शिक्षाबाट बञ्चित रहेका र नगरपालिकाको सो निर्णयले उनीहरू शिक्षाको पहुँचमा आउने विश्वास नगरपालिकाको छ । आर्थिक अभावका कारण छात्राहरूले एसईई पास गरे पनि उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित रहेका बेला नगरपालिकाले नगरभित्रका छात्राको कक्षा ११ को रजिस्ट्रेशन, परीक्षा आवेदन र मासिक शुल्कसहित सम्पूर्ण पढाइ खर्च व्यहोर्ने निर्णयले स्थानीयवासी खुसी भएका नगरपालिकाका श्रीराम दासले बताए । उच्च शिक्षा अध्ययन गर्ने छात्राको संख्या न्यून देखिएकाले छात्रालाई उच्च शिक्षामा पहुँच बढाउन नगरसभाबाट निर्णय गरेर यस वर्षदेखि व्यवहारमा कार्यान्वयन गर्ने भएपछि स्थानीयवासीमा खुसी छाएको स्थानीय रूवी मिश्रा बताउँछिन् । नगर प्रमुख शैलेश कुमार साहले छात्रालाई सिटीईभीटीअन्तर्गतका कलेजमा पढ्न लाग्ने खर्चको ५० प्रतिशत खर्चसमेत नगरपालिकाले व्यहोर्ने जानकारी दिए । ‘शिक्षित छोरी, सुरक्षित छोरी’ नाराका साथ छात्रालाई निःशुल्क पढाउने सुरूवात गरेको प्रमुख साहले न्युज कारखानालाई बताए । छोरी शिक्षत नभएसम्म कुनै पनि क्षेत्रमा सुरक्षित नहुने उनको बुझाइ छ ।