विवादका बीच जापानकी राजकुमारीद्धारा सर्वसाधारण युवकसँग बिवाह

मंगलबार, कात्तिक ९, २०७८

टोकियो । जापानकी राजकुमारी माकोले सर्वसाधारण युवासँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् । बहिनीलाई अँगालो हालेकी थिइन् ।  जापानको शाही परिवार सम्वन्धी नियमअनुसार सर्वसाधारणसँग विहे गरेसँगै राजकुमारीको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी माकोको प्रेमसम्वन्ध मंगलबारदेखि बैवाहिक सम्वन्धमा रुपान्तरण भएको हो । उनहरुको मगनी गत सन् २०१७ मा भएपनि बिवाहको मिति तय भएको थिएन । 
जापानका राजा नारुहितोकी ३० बर्षिया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गरेकी हुन् । उनका पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आएका छन् । बिवाहपछि राजकुमारी माको पनि अमेरिका जाने छिन् । उनीहरुको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको थिएन् । उनले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्यागेकी छन् ।  यी दुवै कुरा परित्याग गर्ने उनी जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारका सदस्यले सर्वसाधारणसँग बिवाह गर्न लागेको भन्दै उनीहरुको बिवाहका बारेमा टिकाटिप्पणी हुँदै आएको थियो । विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण युवासँग विवाह गरेको विषय विश्वभरी भने सकारात्मक चर्चाको विषय भएको छ ।–रासस/एएफपी
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार