सोसल मिडिया
Contact Us
युनिकोड
बुटवल । रुपन्देहीको भैरहवास्थित बाल मन्दिर आधारभूत विद्यालयको पुरानो भवनमा वर्षाको समयमा छत चुहेर बालबालिका पढ्ने कोठामा पानी आउँथ्यो । जस्ताको छाना चुहिएको कारण अकासे पानी कक्षाकोठामै पुग्दा बालबालिकाहरूको ध्यान पढाइमा भन्दा अन्यत्र मोडिन्थ्यो । २०२६ सालयता भवनको मर्मतसम्भार हुन सकेको थिएन । छत केही भत्किएको र जस्ताको छाना चुहिने भएको कारणले गर्दा बालबालिकाको पठनपाठनमा समस्या सिर्जना भइरह्यो । यसले विद्यालयको प्रशासनिक काममा पनि समस्या भयो । विद्यालय भवनको अवस्थाबारे बारम्बार अभिभावक र स्थानीयको गुनासो पनि आइरहन्थ्यो । तर, अहिले भने विद्यालयको अवस्था क्रमशः सुधार हुँदै गएको छ । नयाँ व्यवस्थापन समिति आएपछि विद्यालयको अवस्थामा सुधार हुँदै गएको हो । विद्यालयमा हाल मर्मतसम्भारको कार्य भइरहेको छ । मर्मतसम्भार अन्तर्गत पुरानो जीर्ण अवस्थामा रहेको कर्कटपातालाई हटाएर नयाँ एचएस पान राखिएको छ । भवनमा जीर्ण अवस्थामा रहेका पुरानो प्लाई फालेर नयाँ जिप्सन राखिएको छ । त्यसैगरी विद्यालय भवनमा वायरिङ, नयाँ मिटरबक्स जडान, सरसफाइ र रंगरोगनको काम भइरहेको बाल मन्दिर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीले बताए । लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालयको १० लाख र विद्यालयको १० प्रतिशत लगानी सहभागितामा मर्मतसम्भारको कार्य भइरहेको भण्डारीले बताए । नेपाल बाल संगठन मातहत सञ्चालित यो विद्यालयमा शैक्षिक गुणस्तर सुधार, घरदैलो भर्ना अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए । साजन भण्डारीको नेतृत्वमा नयाँ व्यवस्थापन समिति आइसकेपछि अहिले भौतिक पूर्वाधार निर्माणले गति लिएको छ । नेपाल बाल संगठनका केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले भने, ‘विद्यालयको मुहार फेर्ने गरी अगाडि बढेका छौं ।’ विद्यालय सुधार हुँदै जाने क्रम भए पनि अझै पनि यहाँ केही समस्या भने छन् । विद्यालयकी प्रधानाध्यापक धन थापाका अनुसार विद्यालयमा बालमैत्री शौचालयको र स्वच्छ खानेपानीको अभाव, बालविकास र कक्षा १ का लागि छुट्टै कक्षाकोठा नहुँदा बालबालिकालाई हलमा पढाउनुपर्ने बाध्यता, प्रविधिको प्रयोग गरी बालबालिकाहरूलाई पठनपाठनको व्यवस्था गरी (आईसीटी) कक्षा सञ्चालन हुन नसक्नु र वर्षाको बेला विद्यालय परिसरमा पानी जम्नु प्रमुख समस्या हुन् । नेपाल सरकारद्वारा उपलब्ध गराइएको पाठ्यपुस्तक, छात्रवृत्ति, शैक्षिक सामग्री र खाजा विद्यार्थीहरूलाई प्रदान गरिएको । ‘विद्यालयमा सुविधासम्पन्न भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा प्रदान गर्न सक्यौं भने विद्यार्थीहरूलाई आकर्षित गर्न सकिन्छ’, भण्डारीले भने । नेपाल बाल संगठन रुपन्देहीका कार्यसमिति सदस्य तथा भवन निर्माण समितिका संयोजक शेषकान्त भण्डारीले विद्यालयको भवन मर्मतसम्भार भइरहेको र यसको थप कार्यको लागि सहयोग गर्न सरोकारवाला तथा सामाजिक संघ–संस्थालाई आग्रह गरे । बाल मन्दिर आधारभुत विद्यालयमा ५० जना विद्यार्थी अध्ययनरत छन् ।