सोसल मिडिया
Contact Us
युनिकोड
कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकाको एक विद्यालयमा ल्याब असिस्टेन्ट (प्राथमिक तह स्तरको शिक्षक)को जागिर खान सात लाख रुपैयाँ घुस मागिएको आरोप लागेको छ । गाउँपालिकाको वडा नं.- ३ जगदीशपुरमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि प्रधानाध्यापक मुनिजर हसनले सात लाख रुपैयाा घुस मागेको भन्दै न्यायिक समितिमा उजुरी परेको छ ।
सोही विद्यालयका शिक्षक लडाइँप्रसाद चौधरीले छोरा विवेक चौधरीको नियुक्तिका लागि प्रधानाध्यापकलाई छ लाख रुपैयाँ बुझाएको र एक लाख रुपैयाँ नियुक्तिपछि बुझाउने मौखिक सहमति भएको लडाइँप्रसाद चौधरीले बताए ।
घुस दिएपछि हसनले विद्यालयलाई चार लाख रुपैयाँ चन्दा दिनुपर्ने भन्दै चौधरीलाई विद्यालय व्यवस्थापन समितिसँग भेट गर्न पठाएका थिए । व्यवस्थापन समितिले विद्यालयलाई चार लाख रुपैयाँ चन्दा दिन आग्रह गरेपछि लडाइँ छोरालाई जागिर खुवाउनबाट पछाडि हटेका थिए । घुस र चन्दा दिनुपर्ने भएपछि लडाइँले घुसबापतको छ लाख रुपैयाँ फिर्ता मागेका थिए ।
११ लाख रुपैयाँ दिन नसक्ने र यो विवादमा आफू पर्न नचाहेको भन्दै छोरालाई परीक्षाका लागि नपठाएको उनको भनाइ छ । आफू पनि त्यही विद्यालयमा पढाउने र छोरालाई पनि जागिर मिल्ने भएपछि उक्त रकम दिएको चौधरीको भनाइ छ ।
विद्यालयका प्रअ हसनले लडाइँ विद्यालयको शिक्षक नभएको बताए । ‘ममाथि लगाइएको आरोपसमेत झुटो हो । उनले छोरालाई जागिर खानका लागि नेपाली कांग्रेस विजयनगर गाउँ समिति अध्यक्ष जानकी यादवदेखि अरूबाट समेत दबाब दिएका थिए’, हसनले भने । प्रअले शिक्षक नभएको दाबी गरे पनि लडाइँलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दल नेता वीरेन्द्रकुमार कनोडियाले व्यक्तिगत रूपमा तलब दिएर विद्यालयमा पढाउँदै आएका थिए ।
‘प्रअलाई घुस दिनका लागि शिवराज नगरपालिका पकडी घर भएका चिन्के प्रधानसँगै घर पुगेको थिएँ । उनलाई देखेपछि एक्लै आउन भनेका थिए । ८ कात्तिकमा माछापुच्छ्रे बैंक चन्द्रौटा शाखाबाट चेकमार्फत निकालिएको छ लाख ३० हजारमध्ये ३० हजार घर खर्च राखी बाँकी प्रअ हसनलाई बुझाएको थिएँ’, शिक्षक लडाइँले बताए ।
घटना सार्वजनिक भएपछि प्रअ हसनसँग स्पष्टीकरण माग्दै अनुसन्धान सुरु गरेको विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए । घटनाको विषयमा आज (बिहीबार) गाउँपालिका न्यायिक समितिमा उजुरीसमेत परेको छ । रकम लिएको पुष्टि भएमा प्रअलाई कानुनअनुसार कारबाही गरिने गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए ।
गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिवि आंगिक क्याम्पस बनाउन माग, नेता लेखकले भेटे प्रधानमन्त्री
नेपाली कांग्रेसका नेता रमेश लेखकले बैतडीको डिलाशैनीमा रहेको गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता लेखकको नेतृत्वमा गोकुकेश्वर क्याम्पसका ब्यवस्थापन समिति पदाधिकारी, क्याम्पस प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधिसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेटेर आंगिक क्याम्पस बनाउन माग राखेका थिए ।
भेटमा नेता लेखकले सुदूरपश्चिमको दुर्गम क्षेत्र बैतडीमा सामुदायिक रुपमा स्थापित पहिलो कृषि क्याम्पस गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिविको आंगिक क्याम्पस बनाउन सके त्यस क्षेत्रका गरिब र विपन्न छात्र/छात्राले सहज रुपमा प्राविधिक शिक्षा पढ्न पाउने उल्लेख गरेका थिए । आंगिक क्याम्पस निर्माणको प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधानमन्त्री देउवाले वर्तमान सरकारको दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्यलगायत प्राविधिक शिक्षालाय स्थापना गर्ने कार्यक्रम प्राथमिकतामा रहेकाले गोकुलेश्वर कृषि क्याम्पसलाई आंगिक क्याम्पस बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे ।
लेखक नेतृत्वको प्रतिनिधि मण्डलमा नेपाली कांग्रेस बैतडी पूर्वसभापति शिवराज भट्ट, क्याम्पस प्रमुख परमानन्द जोशी, क्याम्पस व्यवस्थापन समिति संस्थापक अध्यक्ष नवराज पाण्डे, नेबिसंघका पूर्वकेन्द्रीय सदस्य जनक भट्ट, नेपाली कांग्रेस डिलासैनी गाउँपालिका सभापति जयानन्द जोशी, स्ववीयू सभापति राजेन्द्र बम, सेठीगाउँ क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीलगायत सहभागिता थियो ।
विस २०६७ मा सम्बन्ध प्राप्त गोकुलेश्वर कृषि क्याम्पसको उद्घाटन २०६९ सालमा वर्तमान प्रधानमन्त्री देउवाले नै गरेका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा गोकुलेश्वरमै रहेको सेठीगाउँ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन प्रतिनिधिमण्डलले माग गरेको थियो ।