सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । बेलायतमा गरिएको एक अध्ययनमा दुई मात्रा खोप लगाएका व्यक्तिहरुलाई पनि कोभिड भएको देखाएको छ । ती व्यक्तिहरुबाट आफूसँग बस्ने अरुलाई कोरोना सङ्क्रमण सारेको पनि बताइएको छ । दुई मात्रा खोप लगाएका मानिसले पनि खोप नै नलगाएका मानिसले जत्तिकै सङ्क्रमण फैलाउन सक्ने जनाएको छ । लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले एउटै घरमा बस्ने खोप नलगाएका अरू मानिसमा कोरोनाभाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले प्रष्ट पारेको छ । उनीहरूले पाँच मध्ये दुई जनालाई कोभिड सार्न सक्छन्। तर एउटै घरमा बस्ने सबै जनाले पूर्ण मात्रामा कोभिड खोप लगाएका छन् भने त्यस्तो सम्भावना २५ प्रतिशत मात्र हुने पनि अध्यननले जानकारी दिएको छ । ‘द लान्सिट इन्फेक्शस डिजीजेज’को अध्ययनबाट किन अत्याधिक मानिसलाई खोप दिनु महत्वपूर्ण छ भन्ने स्पष्ट भएको शोधकर्ताहरूले बताएका छन् । खोप नलगाएका मानिसहरू आफूलाई कोभिड सर्ने जोखिमबाट जोगिन खोप लगाएका अरु मानिसमा भर पर्न नहुने चेतावनी विज्ञहरूले दिएका छन् । खोपले कोरोनाभाइरस सङ्क्रमणबाट हुने गम्भीर समस्या र मृत्युबाट जोगाउन खोपले सघाउँछन् । तर सङ्क्रमण रोक्न ती धेरै प्रभावकारी हुँदैनन । विशेषगरी भाइरसका डेल्टा भेरिअन्टजस्ता बढी सङ्क्रमक प्रकार फैलिएको बेला तिनले कोभिड सर्नबाट रोक्न सक्दैनन् । अनि समयक्रमसँगै खोपले दिने सुरक्षा घट्दै जान्छ र खोपको अतिरिक्त मात्रा आवश्यक पर्छ । घरमा नै अधिकांश सङ्क्रमण फैलिने भएकाले घरमा बस्ने खोप लिनयोग्य मानिस सबै जनाले खोप लिएको सुनिश्चित गर्नु तथा आवश्यक थप मात्रा लिनु उपयुक्त हुने विज्ञहरूको सुझाव छ । गत सेप्टेम्बरसम्म एक वर्ष लगाएर गरिएको उक्त अध्ययनमा लन्डन र बोल्टनमा कोभिडका लागि पीसीआर परीक्षण गरेका ४४० घरपरिवारलाई संलग्न गरिएको थिया । खोप नलगाएका मानिससँग तुलना गर्दा दुई मात्रा खोप लगाएका मानिसमा डेल्टा भेरिअन्ट सरेर कोभिड हुने कम तर उल्लेख्य जोखिम हुन्छ ।– रासस/एएफपी