सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर : ललितपुर महानगरले महानगरभित्रका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप लगाउन सुरु गरेको छ । महानगरले निमोनिया विरुद्धको खोप (पीसिभि —१३) कात्तिक १४ गते आइतबारबाट ७४ वर्ष र ७४ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाउन सुरु गरेको हो । कात्तिक १७ गतेसम्म संचालन हुने उक्त खोप कार्यक्रम पहिलो चरण अन्तर्गतको खोप कार्यक्रम हो । नगरप्रमुख चिरीबाबु महर्जनले ज्येष्ठ नागरिकको स्वास्थ्य निमोनियाका कारण जोखिममा पर्ने भएकाले उहाँहरुका लागि खोपको व्यवस्था गरेको बताए । उनले भने, ‘महानगर आफ्ना नागरिकको स्वास्थ्य र सुरक्षाप्रति संवेदनशील छौं, यो खोपले केही हदसम्म जोखिममुक्त बनाउन सहयोग गर्छ । ’ ७० वर्ष र ७० वर्ष माथिमा जेष्ठ नागरिकका लागि जतिसक्दो छिटो खोपको व्यवस्था गर्ने नगरप्रमुख महर्जनले बताए । महानगरले खोप कार्यक्रम संचालन गर्नुअघि वडै पिच्छे तथ्यांक संकलन गरेको थियो । महानगरका अनुसार ७० वर्ष माथिकालाई खोप लगाउँदा आठ हजार पाँच खोप आवश्यक पर्छ । अहिले महानगरसँग पाँच हजार पाँच सय मात्रै खोप छ । ‘खोप अभावका कारण सबैलाई ७० वर्ष माथिकालाई एकैपटक खोप दिन सकेनौं ।’ महानगरको छैंटौ नगरसभाले खोप खरिद गरी लगाउने निर्णय गरेको हो । दुई करोड ५४लाखको खोप खरिद गरेको महानगरले जनाएको छ । पाटन अस्पतालका ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ डा. रमेश कँडेलले ज्येष्ठ नागरिकलाई निमोनियाबाट बचाउन यो खोप महत्वपूर्ण हुने बताए । ज्येष्ठ नागरिकको मृत्युको कारण मध्ये निमोनिया एक भएको बताउँदै उनले भने, ‘ ललितपुर महानगरले गरेको यो काम सह्रनीय छ,यसलाई अन्य स्थानीय तहहरुले पनि सिक्नुपर्छ ।’ डा.कँडेलले ज्येष्ठ नागरिकलाई निमोनिया लाग्नबाट जोगाउन गरिएको यो महत्वपूर्ण लगानी भएको बताए । उनका अनुसार समुदायमा नै पुगेर नागरिकलाई निमोनियाको खोप लगाएको संभवत यो दक्षिण एशियामा नै पहिलो पटक हो । कात्तिक १४ गते वडा नं १देखि ५ तथा वडा नं २८ र २९मा , कात्तिक १५ गते वडा नं ६देखि १३, कात्तिक १६ गते १४देखि २० , कात्तिक १७ गते २१देखि २७ सम्म खोप कार्यक्रम सम्बन्धित वडाको खोप केन्द्रमा संचालन गरिने महानगरले जनाएको छ ।