कोरोनाका ५३३ सङ्क्रमित थपिए 

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ५३३ मा सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा ११ हजार ६६४ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित नौ हजार ३१८ जना पुगेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । सङ्क्रमण दर १८.४ प्रतिशत रहेको छ । सङ्क्रमति शून्य रहेका जिल्ला मनाङ र मुगु मात्र छन् ।
पछिल्लो २४ घण्टामा ४९० जनाले सङ्क्रमणबाट निको भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार २७७ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.४ प्रतिशत रहेको छ । यसैगरी आज कोरोना सङ्क्रमणबाट नौ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४१६ जनाको निधन भएको छ ।
हाल कोरोना सङ्क्रमितहरू होम आइसोलेशनमा आठ हजार ५९८, संस्थागत आइसोलेशनमा ७२०, सघन उपचार कक्षमा २४१ र भेन्टिलेटरमा ७४ जना रहेका छन् । आज ६५ हजार २८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८६ लाख ७० हजार २४ जनाले पहिलो मात्रा र ७२ लाख ५२ हजार २८५ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
गण्डकीमा ३४ कोरोना सङ्क्रमणमुक्त
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २३ सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिनेमा कास्कीका नौ, स्याङ्जाका आठ, तनहुँका दुई तथा नवलपरासीपूर्व, लमजुङ, गोरखा र म्याग्दीका एक÷एक जना छन् । 
यस अवधिमा पोखरा महानगरपालिका–२६ का ५६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३९६ पुगेको छ । निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५२५ जना र होम आइसोलेशनमा ४२१ जना रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  २२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार