सोसल मिडिया
Contact Us
युनिकोड
धमाधम घर रंगरोगन भइरहेको थियो । घरमा किनमेलको चर्चा थियो । आफन्तको आवतजावत भइरहेको देखिन्थ्यो । गएको शनिवार अपराह्न शहीद प्रद्युम्न खड्काको घर पुगेकी थिएँ । उनकी जीवन संगिनीसँगको त्यो मेरो पहिलो भेट थिएन । पहिलो पटक वानेश्वरस्थित उच्च माध्यमिक शिक्षा परिषद्को छतमा बसेर झण्डै दश वर्ष अघि कुराकानी गरेको सम्झिएँ । त्यतिखेर उनको जीवनमा लागेको घाउ आलो थियो । पहिलो प्रश्नमै नै उनी भावविह्वाल भएकी थिइन । मक्मकिएकी थिइन् । यो भेटमा प्रश्नहरूलाई उनले सजिलै लिइन् । समयले उनको त्यो घाउलाई बिर्साएको त होइन, थोरै खाटा बसाएको रहेछ । ‘घर सजाउँदैं’ मैले सोधेँ । उनले जेठो छोराको बिहे आँटेको सुनाइन् । प्रभाको त्यो वाक्यसँगसँगै अनुहार थप उज्यालो भएको थियो । घरमा नयाँ सदस्य थपिएपछि एक्लोपन केही कम हुने अनुमान लगाएकी छिन् उनले । त्यत्तिबेला जेठो छोरा प्रज्ज्वल १० वर्षका थिए, जतिबेला प्रद्युम्नले प्रभालार्ई सधैंको लागि छाडेर गएका थिए । उनी अहिले वयस्क छोरोको घरजम बसाउने तयारीमा जुटेकी छिन् । छोराहरूको रेखदेखमा कमि हुन नदिन प्रद्युम्न शहीद भएको केही वर्षसम्म उनले जागिर खाइनन् । तर, सधैँ त्यस्तो संभव थिएन । उच्च माध्यमिक शिक्षा परिषद्मा प्रभाले २०६८ सालबाट काम सुरु गरिन् । त्यहाँको कामले घर खर्च त चल्यो, तर मन खुशी भएन । दैनिक ज्यालादारीमा काम गर्थिन् उनी त्यहाँ । राधा ज्ञवाली ऊर्जामन्त्री हुँदा प्रभालाई विद्युत् प्राधिकरणमा काम गर्ने मेलोमेसो मिलाइ दिएकी रहेछिन् । प्रभा भन्छिन्, ‘अहिलेको कामले घर व्यवहार पनि राम्ररी चलेको छ, टेबुल कुर्सीसहितको काम छ’ विद्युत् प्राधिकरणमा काम थालेको पाँच वर्ष भएको रहेछ । काम सुरु गर्नु अघिका ती दिन सम्झिइन् प्रभाले । एमाले पार्टी कार्यालयमा चियापान कार्यक्रम थियो । त्यो कार्यक्रममा सहभागी हुन गइन् । मन एक तामस थियो । मनमा अनेक कुरा खेल्थे । सधैँजसो तनावमा हुन्थिइन् । कार्यक्रममै एमाले नेतृ विन्दा पाण्डेले पढ्न र काम गर्न प्रेरित गरिन् । पाण्डेकै सल्लाह अनुसार सातदोबाटोस्थित प्रेरणा महिला विद्यालयमा भर्ना हुन समेत गएकी थिइन् उनी । भन्छिन्, ‘पढ्ने बानी छुटेर होला, पढ्न सकिन, फेरि घर चलाउन काम नै महत्वपूर्ण थियो ।’ त्यसपछि उनले उच्च माध्यमिक शिक्षा परिषद्मा काम सुरु गरिन् । त्यसरी सुरु गरेको कामले जीवनमा परेको त्यो बज्रपातलाई केही फिक्का बनाइदिएको छ ।
कहिल्यै नआउने गरी गएका रहेछन् ! १४ वर्ष अघिको वैशाख ७ को त्यो दिन, प्रद्युम्न सबेरै घरबाट निस्के । छिट्टै आउने वाचा गरेर गएका थिए उनी । उनको गन्तव्य थियो, कलंकी चोक, जहाँ राजा ज्ञानेन्द्रको ‘शाही कू’ को विरोधमा उत्रिएका स्वतन्त्रता प्रेमीहरू थिए । खानासँगै खान केही बेर प्रभाले प्रद्युम्नलाई कुरिन् । प्रद्युम्न आएनन् । प्रभाले खाना खाइन् र मकै गोड्न बारीतिर लागिन् । त्यत्तिखेर अहिले जस्तो कंक्रिटको जंगल बनिसकेको थिएन, कलंकी चोकमा उर्लिएको जनसागर बारीको पाटोबाट देखिन्थ्यो । माइकिङ सुनिन्थ्यो । पटका पड्केको जस्तै आवाज सुनिन् । हेलिकप्टर घुमिरहेको थियो । धेरै बेर उनको मन बारीको पाटोमा थामिएन् । कुटो, कोदालो बारीमा छाडेर कलंकी चोकतिर लम्किए उनका पाइला । जाँदाजाँदै छिमेकी काकाले प्रद्युम्नलाई गोली लागेको सांकेतिक सन्देश दिए । अपुष्ट त्यो खबरले वातावरण चकमन्न भयो । उनी बेहोश जस्तै भइन् । सान्त्वना दिन केहीले रबरको गोली मात्रै लागेको बताए । गोडामा लागेको सुनाए । सुरुमा त उनले सबैका कुरा पत्याइन् । जुन बेला मोडेल अस्पतालको बेडमा लमतन्न सुतेका प्रद्युम्नलाई जाँच्न सब आफन्तलाई डाक्टरले बाहिर पठाए, त्यत्तिबेला ती सब झुट सावित भए । डाक्टरको अनुरोधमा बाहिरिएकी प्रभा पछाडि फर्किएर हेर्नु र डाक्टरले गोली लागेको भाग हेर्न प्रद्युम्नले ओडेको ओड्ने उर्घानु एकैसाथ भएछ । सम्हालिदैँ उनले भनिन् ‘पेट ह्वाङगै, काटेको मासु थुपारेको जस्तो ।’ त्यतिखेर उनी सम्हालिन सकेकी थिइनन् । डाक्टरले उनलाई मिर्गाैला, पिसाब थैली आन्द्रा क्षतविक्षत भएको बताएका थिए । त्यो दृश्य र डाक्टरको त्यो वाक्यले प्रभाको मनमा थुप्रै शंका उपशंकाहरू बादल जस्तै मडारिए । त्यतिखेर डाक्टरले भनेका रहेछन्, ‘हामी सक्दो प्रयास गर्छौ, बाँकी कुरा भगवानको हातमा छ ।’ सँगै खाना खाने बाचा गरेका प्रद्युम्न कहिल्यै फर्किएनन्, सबैसँग सधैंका लागि बिदा भए ।
फिर्ता ल्याउँछु भन्ने थियो, तर सकिँन
‘भाउजु तपाई आजै आउनु पर्दैन, दाइलाई खासै केही भएको छैन, भोलि गाडी मिले आउनुहोला’ भन्दै प्रद्युम्नसँग अस्पताल पुगेका देवरले प्रभालाई फोनमा भने । उनीसँग विश्वासको विकल्प के थियो र । रातभर जसो तसो बिताइन् । बिहान उज्यालो हुँदा हिँडेरै अस्पताल पुगिसकेकी थिइन् उनी । अस्पतालको ओछ्यानमा देख्दा प्रद्युम्न ज्वरोको बिरामी झैं लागेका थिए । ‘प्रभा तिमी आयौं’ भने । ‘कति जनालाई गोली लाग्यो’ भने । छोराहरुको सोधी खोजी गरे । जतिबेला पनि उनी आफूलाई केही नभएको बताउँथे । डाक्टरसँग परिचय गराइदिए । त्यतिखेर प्रभालाई केही दिनको उपचारपछि निको पारेर घर फर्काउँछु जस्तो लागेको थियो । उनले भाग्य र भविष्यबारे सबै अनभिज्ञ हुने बताउँदै भनिन्, ‘तर सकिन, सब कुरा भाग्यमा नै लेखेको हुने रहेछ ।’
केही दिन मोडेल अस्पतालमै उपचार गरियो । सास भएसम्म आशा भने झैं थप उपचारका लागि भारत लैजाने सल्लाह भएछ । भारत लैजान प्रभाले जोड दिएकी थिइन । वैशाख एघार गते उनलाई भारतको एम्स अस्पताल लगियो । लिफ्टबाट ओराल्दैं गर्दा प्रभाले फरक अनुभव गरिन् । शायद गाह्रो भएर होला, त्यो दिन प्रद्युम्नको अनुहारमा चमक थिएन । उनी मौन थिए । उपचारकै क्रममा प्रद्युम्नले वैशाख १६ गते भारतको एम्स अस्पतालमा शाहदत प्राप्त गरे । प्रभाले नागरिकको स्वतन्त्रता र गणतन्त्रसँग आफ्नो जीवन साथी साटिन् । सिन्दुरसँग साटेको गणतन्त्रमा पद र शक्तिका लागि नेताहरूको लुछाचुँडी देख्दा उनलाई दिक्क लाग्छ । खबरदारी गर्दै भन्छिन्, ‘ शहीद परिवारको आँशुले पोल्ला, शहीदलाई धोका होला !’ केही वर्ष अघिसम्म त दिनहुँ जस्तो उनी निन्द्रामा प्रद्युम्नलाई ढोका खोल्न पुग्थिन् । ‘प्रभा ढोका खोल, म आएँ’ बोली सुनेपछि खुसी हुन्थिन् । गोली लागेको त्यो घटना त होइन रहेछ भन्ने भान हुन्थ्यो उनलाई । बिउँझिएपछिको वास्तविकता भने अर्कै । सपनामा प्रभाले बोकेर उपचारका लागि धेरै ठाउँ पु¥याइन् । अहिले पनि तिथि नजिक आउँदा, तनाव हुँदा सपनामा देख्छिन् । विपनामा पनि उनी बाटैदेखि बोलाउँदै आउँथे । सपनामा पनि बाटैबाट बोलाउँछन्, ‘ढोका खोल प्रभा, म आएँ’ भन्छन् । तर, घरभित्र आएको अहिलेसम्म देखेकी छैनन् । ‘तिमीलाई गाह्रो भयो है’ पनि भन्छन् कहिलेकाहिं प्रद्युम्नले प्रभालाई । सपनामै आएर भएपनि उनी प्रभालाई सान्त्वना दिन्छन् ।
जति सम्झियो, त्यति चिन्ता । त्यति नै पीडा र तनाव । त्यसैले अचेल प्रभाले बितेको त्यो घटनालाई घोत्लिन कम गरेकी छिन् । ‘जे भयो भयो, ठूलो र महत्वपूर्ण कारणका लागि मैले उहाँलाई साटेँ’ १६ वर्षको उमेरमा प्रभाको विवाह भएको थियो । त्यतिबेला प्रद्युम्न मात्रै १८ वर्षका थिए । सँगै जीवन बिताएको ११ वर्ष भएको रहेछ । प्रभा एकल महिला समूहमा आबद्ध भइन् । त्यहाँ अन्य महिलालाई देख्दा उनले आफू बलियो भएको महसुश गरिन् । आफूलाई बलियो बनाउने र सान्त्वना दिन त्यस्ता समूह र संस्थाको तागत महत्वपूर्ण हुने प्रभाको अनुभव छ । तर, पनि उनलाई लाग्छ, मान्छे हुनु र नहुनुमा धेरै फरक छ । वास्तवमा यो यथार्र्थ हो । तर पनि उनी सम्हाल्छिन् । दुई छोरा र उनीहरूको परिवार नै अब आफ्नो लागि ठूलो शक्ति भएको बताउँछिन् । राष्ट्रका लागि बलिदान गर्ने सम्पूर्ण शहीद, प्रभा जस्ता महिला जसले गणतन्त्रसँग सिन्दुर साँट्ने महिला र काख सित्तो बनाउने आमाहरू लगायत सबैलाई नमन । यहाँहरूको त्याग र समर्पण इतिहासमा स्वर्ण अक्षरमा लेखिएको छ । युगले तपाईहरूलाई सम्झिरहनेछ ।