दीपावलीको अवसरमा बेलायतले निकाल्यो गान्धी अङ्कित सिक्का 

बिहीबार, कात्तिक १८, २०७८
मयुर प्लाई
Global Ime Bank

लन्डन । बेलायतले भारतीय स्वतन्त्रतावादी नेता महात्मा गान्धीको जीवन र विरासतको उत्सव मनाउँदै दीपावलीको अवसरमा बिहीबार नयाँ स्मारक सिक्का अनावरण गरेको छ । सुन र चाँदीमा उपलब्ध यस विशेष सिक्कामा भारतको राष्ट्रिय फूल, कमलको चित्र र गान्धीको एउटा प्रख्यात उद्धरण ‘मेरो जीवन मेरो सन्देश हो’ भन्ने उल्लेख गरिएको छ । बेलायतका प्रथम हिन्दू वित्त मन्त्री ऋषि सुनाकले बेलायतले गान्धीको सम्मानमा गरेको यो कामलाई ‘विश्वभरका लाखौं मानिसहरूलाई प्रेरित गर्ने प्रभावशाली नेतालाई उचित श्रद्धा’ भएको बताए ।
“हिन्दू धर्म मान्ने भएकाले दिपावलीका बेला यो सिक्का खुलाउन पाएकोमा म गौरवान्वित छु,” सुनाकले भने । विश्वभरि नागरिक अधिकार आन्दोलनका लागि चिनिँने गान्धीले भारतमा बेलायती शासनविरुद्धको स्वतन्त्रता अभियानको नेतृत्व गरेका थिए । 
यसका कारण सन् १९४७ मा भारत स्वतन्त्रता प्राप्त गर्न सहयोग पुगेको थियो । 
बिहीबारबाट बिक्री भइरहेको ५ पाउण्डको सिक्का ‘रोयल मिन्ट’को दिवाली संकलनको ब्यापक हिस्सा हो । यो सिक्कामा धनकी हिन्दू देवी लक्ष्मीको चित्रण गरिएको सुनबार पनि समावेश छ । हिन्दूहरू मसीही तथा मुसलमानहरूपछि बेलायतको तेस्रो ठूलो धार्मिक समूह हुन् र यो जनसंख्याको लगभग १.६ प्रतिशत रहेको छ । 
अधिकांश बेलायती हिन्दूहरू नेपाल, भूटान, बर्मा तथा भारतीय मूलका रहेका छन् । सरकारी स्वामित्वमा रहेको टकसालका मुख्य ग्राहक अधिकारी निकोला हावेलले सिक्का अनावरणबारे भने, “महात्मा गान्धीको जीवन र विरासतको सम्झनामा पहिलो आधिकारिक बेलायती सिक्का अनावरण गर्न पाउँदा खुसी लागेको छ ।” “यसको बनावट बेलायत र भारतबीचको स्थायी तथा सांस्कृतिक सम्बन्धमा आधारित रहेको उनले बताए ।– रासस/एएफपी
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  २१:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार