रुसमा एकै दिन थपिए ३९ हजार भन्दा बढीमा सङ्क्रमित 

सोमबार, कात्तिक २२, २०७८

मस्को, २२ कात्तिक । रुसमा गएको २४ घन्टामा ३९ हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । साथै यो अवधिमा यहाँ एक हजार १७९ जनाको ज्यान गएको छ । यो समेतगरी यहाँ करिब ८८ लाख मानिसमा यो संक्रमण देखिएको छ । 
त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ । यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २.८१ रहेको पनि समाचारमा जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको बताएका छन् ।

भारतमा एकैदिनमा थप ११ हजार नयाँ सङ्क्रमित, २६६ को मृत्यु

भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप ११ हजार ४५१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।सोही अवधिमा अरु २६६ जनाको कारोनाभाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 
केन्द्रीय स्वास्थ्य मन्त्रालयअनुसार पछिल्लो एक दिनमा १३ हजार २०४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको छ ।  
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या एक लाख ४२ हजार ८२६ रहेको छ । यो सङ्ख्या २६२ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ ।  भारतमा अहिले पनि कोरोनाभाइरसको महामारीको प्रभाव सवैभन्दा धेरै केरला राज्यमा देखिएको छ । केरलामा मात्रै पछिल्लो २४ घण्टामा पनि सात हजार १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

मङ्गोलियामा एक दिनमा सबैभन्दा थोरै नयाँ सङ्क्रमित
मङ्गोलियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सबैभन्दा थोरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मङ्गोलियामा ४५० जना नयाँ सङ्क्रमित थपिएका हुन् । यो सङ्ख्या मे १८ पछिकै सबैभन्दा थोरै भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन । मङ्गोलियामा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या तीन लाख ६८ हजार ६०० पुगेको तथ्याङ्क मन्त्रालयसँग छ ।
त्यसैगरी अहिलेसम्म कोरोनाका कारण एक हजार ७४४ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । कोरोनाभाइरस विरुद्धको खोप अभियान र जनचेतनामूलक अभियान तीव्र रुपमा चलाइएकाले महामारीको प्रभाव कम हुँदै गएको बताइएको छ । मङ्गोलियाका चार लाख ४५ हजार ९०० भन्दा बढीलाई अतिरिक्त खोप लगाइएको छ । स्वास्थ्य मन्त्रालयले अहिले पनि भिडभाड नगर्न, मास्कको प्रयोग गर्न, सेनिटाइजर लगाउन आह्वान गरिरहेको छ ।– रासस/सिन्ह्वा
 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार