सोसल मिडिया
Contact Us
युनिकोड
धनगढी, २४ कात्तिक : मंगलबार राति कैलालीको टिकापुरमा ‘ग्याङ’ फाइट हुँदा लम्किचुहा नगरपालिका–१ का भूपेन्द्र बडूवालको हत्या भयो । हत्या गरिएका बरुवाल लम्कीस्थित युवा ग्याङका नाइके रहेका थिए ।
कैलालीको लम्की नगरपालिकामै पर्ने चिसापानी क्षत्रेका युवा र लम्की क्षेत्रका युवाबीच लामो समयदेखि सामूहिक कुटाकुट हुने गरेको थियो । मंगलबार पनि दुई समूहबीच जम्काभेट हुँदा लम्की क्षत्रका युवाको नेतृत्व गर्ने बडूवालले ज्यान गुमाएका छन् भने चिसापानी क्षेत्रका युवाको नेतृत्व गर्ने नवीन रावल फरार छन् ।
इलाका प्रहरी कार्यालय कैलालीका अनुसार चिसापानी र लम्कीका दुई समूहबीच विगतदेखि नै रिसिवी रहेको थियो ।
‘मृतक बरुवाल र फरार रहेका नवीन रावल दुवै जना ‘ग्याङ’ बनाएर लडाई गर्दै आएका थिए,’ इलाका प्रहरी कार्यालय टिकापुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने,‘मंगलबार पनि दुई समूहबीच ‘ग्याङ’ फाइट नै भएको हो । एउटा समूहका नाइके मारिए । अर्को समूहका नाइके फरार रहेका छन् ।’
दुई समूहबीच योजनाबद्ध तरिकाले मुठभेड भएको प्रहरीले जनाएको छ । ‘यो मुठभेड अचानक भएको होइन,’ प्रहरी नायव उपरीक्षक सापकोटाले भने,‘योजनाबद्ध तरिकाले भएको मुठभेड हो । त्यसैले हतियारसहित युवाहरू टिकापुर पुगेका थिए ।’
घटनामा संलग्न नवीन रावल समूहका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर, नवीन रावल भने फरार रहेका छन् ।
उनको खोजीकार्य भइरहेको प्रहरीले जनाइएको छ । घटनापछि सुरक्षा खतरालाई मध्यनजर गर्दै प्रहरीले नवीन रावलका आमा बुबा र भाइलाई सुरक्षा घेरामा राखेको छ । उनीहरू चिसापानीस्थित संगम होटेल सञ्चालन गर्दै आएका थिए । मृतकका आफन्तले जाहेरी दिएपछि घटनाको थप अनुसन्धान हुने इलाका प्रहरी कार्यालय टिकापुरका इन्चार्ज सापकोटाले बताए ।
हत्या प्रकरणमा आठ जना सार्वजनिक कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मङ्गलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा आठ जनालाई सार्वजनिक गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो । पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले आज दिनभर पूर्वपश्चिम राजमार्गको लम्कीमा चक्काजामसमेत गरेका थिए । अभियुक्तलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने भनेपछि दिनभरसम्म शव टीकापुर अस्पतालमै रहेको थियो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दोषीलाई कारबाही गर्ने सहमतिअनुसार आजै साँझ आफन्तले शव बुझेको बताए । उनले अझै पनि घटनामा संलग्न केही फरार रहेको जनाउँदै उनीहरुको खोजीकार्य भइरहेको बताए । प्रहरीले घटनास्थलबाट सु.प.प्र. ०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।