बिहीबार थपिए ३१७ कोरोना सङ्क्रमित

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौँ, २५ कात्तिक । देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ६५३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १६ हजार ६० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ९९५ छ । आज २७९ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९७ हजार ५९ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

छजनाको मृत्यु 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय चार हजार ५१६ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ५३५ रहेको छ । होम आइसोलेसनमा सात  हजार १०, संस्थागत आइसोलेसनमा ५२५, आइसीयुमा १८८ र भेन्टिलेटरमा ५४ जनाले उपचार गराइरहेका छन् । 

सुदूरपश्चिममा थप आठ जनामा सङ्क्रमण, एकको मृत्यु
सुदूरपश्चिम प्रदेशमा बिहीबार थप  आठ  जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १११ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
पीसीआर छ र एन्टिजेन विधिमार्फत दुई जनामा सङ्क्रमण देखिएको हो ।  पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार र महाकाली अस्पतालमा दुई जनामा सङ्क्रमण देखिएको हो । यस्तै एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर आठ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचारका क्रममा कञ्चनपुरको भिमदत्त नगरपालिका– ७ का ७० वर्षीया महिलाको मृत्यु भएको हो । 
यसअघि बुधबार यस प्रदेशमा ६ सङ्क्रमण पुष्टि हुँदा नौ जना निको भएका थिए । यस प्रदेशमा हालसम्म कोरोनाका कारण ६०७ जनाको मृत्यु भइसकेको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  २०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार