सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । सुवर्ण स्मृति परिषद्ले अहिले विभिन्न क्षेत्रमा रहेका चार जना प्रजातन्त्र सेनानीहरुलाई सुवर्ण स्मृति सम्मानबाट सम्मानित गरेको छ । यसैगरी परिषद्ले अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ । २५ हजार नगद सहित पुरस्कृत हुनेमा डोटीका नरेन्द्रराज पनेरु रहेका छन् । सम्मानित हुनेहरुमा स्नेहलता श्रेष्ठ,राजेश्वर नेपाली, उत्तम नारायण श्रेष्ठ र तीर्थलाल श्रेष्ठ रहेका छन् । देशमा प्रजातन्त्र ल्याउन उनीहरुले गरेको योगदानको कदर गर्दै सम्मानित गरिएको परिषद्ले जनाएको छ । सम्मानित हुनेलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले सम्मान पत्र सहित खादा र माला लगाइदिएर सम्मान गरे । पुरस्कृत विद्यार्थी पनेरुले पनि डा.महतबाट पुरस्कार थापेका थिए । नेपाल कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर राणाको ४४ औं स्मृति दिवसको सिलसिलामा उनीहरुलाई सम्मानित र पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री रामशरण महतले नेपालको राजनीतिक इतिहासमा सुवर्ण शमशेरको योगदान अतुलनीय भएको बताए । सुर्वण शमशेर नेपालको पहिलो अर्थमन्त्री थिए । सुवर्ण शमशेरले मुलुकको आम्दानी, खर्च, स्रोत पहिचान र व्यवस्थापनका लागि वार्षिक बजेट ल्याउन सुरु गरेको डा.महतले बताए । सुवर्ण शमशेर नेपाली राजनीतिको बिर्सन नहुने पात्र भएको प्रष्ट पारे । पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले सुवर्ण शमशेरको योगदान अतुलनीय भएको बताउँदै त्यसलाई बिर्सन नहुने बताए । परिषद्का महासचिव उद्धव ढुंगानाले सुवर्ण शमशेर मुलुकको लागि निजी सम्पत्ति खर्च गर्ने एक मात्रै नेता भएको दाबी गर्दै शमशेरलाई त्यागी र दानवीर नेता घोषणा गर्नुपर्र्ने बताए । सुवर्ण शमशेर नभएको भए प्रजातन्त्रका लागि गरिएको सात सालको आन्दोलन सफल नहुने उनले बताए । कार्यक्रममा परिषद्का अध्यक्ष तिलक प्रसाद कायस्थ, सल्लाहकार र सम्मानितले मनतव्य राखेका थिए ।