सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आज पुनः एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी छ । केन्द्रीय बैंकले यही कात्तिक ३ गते जारी गरेको निर्देशनलाई आज थप परिष्कृत र व्यवस्थित गरेको जनाएको छ । राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने व्यवस्था गरेको थियो । आज जारी भएको निर्देशनअनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेपबाहेक) को औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने भएका छन् । यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले कल डिपोजिट र संस्थागत मुद्दती निक्षेपबाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत विन्दुसम्म बढाउन सक्ने व्यवस्था भने खारेज गरेको छ । बोलकबोलका आधारमा सङ्कलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप सङ्कलन गर्नु पर्नेछ तर बैंक तथा वित्तीय संस्थासँग रहेको निक्षेपलाई पूनः बोलकबोल गरी नवीकरण गर्नुपरेमा प्रकाशित ब्याजदरमा ०।१ प्रतिशत विन्दुसम्म मात्रै थप गरी निक्षेप सङ्कलन गर्न सकिनेछ ।
अर्थमन्त्री र गभर्नरबीच छलफल बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको तथा मौद्रिक नीतिको समीक्षा गर्ने समय नजिकै आइरहेको बेला अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ । अर्थमन्त्रालयमा आज भएको छलफल नियमित भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको आगामी मङ्सिरको पहिलो साता समीक्षा गर्ने तयारी गरेको छ । यसअघि अर्थमन्त्री शर्माले क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर तरलताको समस्या समाधान गर्ने विषयमा छलफल गर्नुभएको थियो । अर्थमन्त्रीका प्रेस सल्लाहकार गोविन्द रोकाले आजको छलफल नियमित भएको राससलाई प्रतिक्रिया दिए ।