भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०२० को मार्चपछिकै सबैभन्दा कम

आइतबार, कात्तिक २८, २०७८

नयाँदिल्ली, २८ कात्तिक । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै कम देखिएको छ ।
सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय सङ्क्रमित रहेका छन् । 
उनीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ३५ हजार ९८१ रहेको छ ।
“कुल सङ्क्रमितमध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय सङ्क्रमित रहेका छन्, यो सङ्ख्या पछिल्ला ५२२ दिन अर्थात १७ महिना पछिकै सबैभन्दा कम हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा ११ हजार २७१ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीका अनुसार सोही अवधिमा कोरोनाभाइरसका कारण थप २८५ जनाको मृत्यु भएको छ ।   
भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाको कुल सङ्ख्या चार लाख ६३ हजार ५३० पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ । 
पछिल्लो एक दिनमा नयाँ थपिएका सङ्क्रमितमध्ये छ हजार ४६८ जना केरला राज्यका मात्रै रहेका छन् । भारतमा कोरोनाका कारण अहिले सबैभन्दा बढी प्रभावित केरलामा एक दिनमा मात्रै २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १२ लाख ५५ हजार ९०४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।– रासस/एएनआई

  
नोभेम्बर १४ सम्मको कोरोना सङ्क्रमितको सङ्ख्या

जोन्स होप्किङ्स विश्वविद्यालयले पु्ष्टि गरेको नोभेम्बर १४ सम्मका विश्वलगायत दश देशको कोरोना सङ्क्रमितको सङ्ख्या यस प्रकार रहेको छ ।
देश    सङ्क्रमितको सङ्ख्या
संयुक्त राज्य अमेरिका    ४७,०५०,५०२
भारत    ३४,४२६,०३६
ब्राजिल    २१,९५३,८३८
बेलायत    ९,५७२,३५१
रुस    ८,८८१,३०६
टर्की    ८,३८८,५१२
फ्रान्स    ७,३७७,४८३
इरान    ६,०३१,५७५
अर्जेन्टिना    ५,३०५,१५१
-रासस/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार