आइतबार थपिए ३०६ मा कोरोना सङ्क्रमित 

सोमबार, कात्तिक २९, २०७८

काठमाडौँ, २९ कात्तिक । थप ३०६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार आठजनाको पिसिआर परीक्षण गर्दा २९१ जना र एक हजार ५९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आइतबार थपिएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या नौ लाख १२ हजार ५३ पुगेको छ । 
पछिल्लो २४ घण्टामा ३४८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सात लाख ९८ हजार २७४ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २१५ जना रहेका छन् । जसमध्ये ६ हजार ६९९ जना होम आइसोलेशनमा रहेका छन् भने ५१६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । 
मन्त्रालयका अनुसार कोरोनाका बिरामीमध्ये २२२ जना आइसियू र ६७ जना भेन्टिलेटरमा उपचारमा छन् । दश वर्षमुनिका ६ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । एघारदेखि २० वर्ष उमेर समूहका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७७ पुगेको छ । 

प्रदेश नं १ मा २९ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २९ जनामा कोरोना सङ्क्रमण भएको छ । तीन सय ६५ जनाको पिसिआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा १५, मोरङमा आठ, सुनसरीमा तीन र इलाममा दुईजनामा सङ्क्रमण देखिएको हो ।     प्रदेशमा आजै १७ महिलासहित ३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुईजना पुरुषको मृत्यु भएको बताइएको छ ।

गण्डकीमा एक हप्तामा २६१ जना सङ्क्रमण मुक्त

गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा २६१ कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा १४३ सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ४३ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार यस अवधिमा ३१ जना सङ्क्रमित थपिएका छन् भने बाग्लुङ–९ का ५३ वर्षीय पुरुषको सङ्क्रमणका कारण मृत्यु भएको छ । निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ४०२ पुगेको छ । प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या ३०१ जना रहेको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ०४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार