भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दो, २०२० को मार्चपछिकै सबैभन्दा कम

मंगलबार, कात्तिक ३०, २०७८

नयाँदिल्ली, ३० कात्तिक । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै कम देखिएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय सङ्क्रमित रहेका छन् । 
उनीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ३४ हजार ९६ रहेका छन् । कुल सङ्क्रमितमध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय सङ्क्रमित रहेका छन्, यो सङ्ख्या पछिल्ला ५२३ दिन अर्थात १७ महिना पछिकै सबैभन्दा कम हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार २२९ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख ४७ हजार ५३६ पुगेको सो मन्त्रालयले दिएको पछिल्लो जानकारीमा बताइएको छ  । 
गत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १२५ जनाको मृत्यु भएको छ ।  यसैसँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म यसको सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६३ हजार ६५५ रहेको बताइएको छ । 
भारतमा गत २४ घण्टामा भारतमा ११ हजार ९२६ जना कोरोनाबाट मुक्त भएका यसैसँगै भारतमा कोरोना भाइरस शुरु भएयता हालसम्म कोरोना मुक्त भएकाको संख्या तीन करोड ३८ लाख ४९ कजार ७८५ रहेको छ ।

एक दिनमा चीनमा ५२ जना र रुसमा ३८ हजार नयाँ सङ्क्रमित
कोरोनाभाइरसबाट एक दिनमा रुसमा ३८ हजारभन्दा बढी सङ्क्रमित भइरहेका बेला चीनमा भने ५२ जना मात्रै नयाँ सङ्क्रमित भएका छन् ।  चिनियाँ समाचार संस्थाहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा चीनभरिमा ५२ जना मात्र नयाँ सङ्क्रमित थपिएका हुन् ।
नयाँ थपिएका मध्ये पनि देशभित्रैबाट सङ्क्रमित भएका भने ३२ जना मात्रै रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । 
आन्तरिक रूपमा सङ्क्रमित भएकामध्ये २५ जना लिओनिङ्का रहेका छन् भने दुई जना हेइलोङजियाङ र एक एक जना हेबेइ र युनानका रहेका छन् ।  
अरू २० जना भने विदेशबाट आएकाहरूमध्येमा देखिएको आयोगका अधिकारीहरूले जानकारी दिएका छन् । 
तर सोही अवधिमा रुसमा भने ३८ हजार ४२० जना नयाँ सङ्क्रमित देखिएको रुसी अधिकारीहरूको भनाइ छ । 
योसँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरूको कूल सङ्ख्या ९१ लाख नौ हजार ९४ पुगेको छ । 
रुसमा पछिल्लो समय लगातार औसतमा ४० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ । तर ४० हजारभन्दा कम सङ्क्रमित देखिएको सोमबार तेस्रो दिन हो ।– एएनआई/सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार