छ करोड खोप आउँदै : स्वास्थ्यमन्त्री खतिवडा

५ वर्ष सम्मका बालबालिकाका लागि पनि खोप ल्याइने
शनिबार, मंसिर ४, २०७८

भक्तपुर । सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको दुई मात्रा लगाउन पुग्ने गरी नेपालले ६ करोड कोरोना खोप सुनिश्चित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागिएको पुष्टि गरे ।  मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उनलेसरकारले छ करोड खोपको सुनिश्चितता गरेको जानकारी दिए ।
मन्त्री खतिवडाले भने, “करिब एक करोड डोज खोप जनतालाई लगाइसकेका छाँै, विश्वस्वास्थ्य सङ्गठनबाट सहयोगमा आउने २० प्रतिशत खोपबाहेक अरु खोप ल्याउन सरकारले केही सम्झौता गरिसकेको छ, केही सम्झौताको चरणमा छ, जनताका लागि छ करोड खोप सुनिश्चित गरिसकेका छौँ, अब खोपको अभाव हुँदैन ।”

उनले १२ वर्षदेखि १८ वर्षका नागरिकका लागि एक करोड खोप सम्झौता भइसकेको जानकारी दिएका छन् । अमेरिकामा पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाएको र भारत तथा चीन पनि त्यस्ता खोपको परीक्षण भइरहेकाले त्यो सफल हुनेबित्तिकै १२ वर्षभन्दा तल पाँच वर्षसम्मका बालबालिकाका लागि पनि खोप ल्याउने उनको भनाइ छ ।
उनले दुई डोज खोप दिएर नपुग्ने भन्दै तेस्रो डोज खोज बुस्टर लगाउनुपर्ने चर्चा चलिरहेकाले त्यसबारेमा पनि सरकारले छलफल चलाएको र आवश्यकता परे तेस्रो डोज दिनका लागि बुस्टर खोप पनि ल्याइने बताए ।
अहिले केन्द्र र स्थानीय सरकार भए पुग्छ, प्रदेश सरकार चाहिँदैन भनेर बहस चलेको बताउँदै मन्त्री खतिवडाले भने, “प्रदेश चाहिँदैन भनेर निर्णयमा पुग्ने बेला आइसकेको छैन, अहिले यो प्रयोगात्मक परीक्षणमै छ, अझै कार्यकाल प्रयोगात्मक अवस्थामा प्रदेश सञ्चालन भएपछि मात्रै त्यस बहसका बारेमा छलफल गर्ने बेला आउँछ ।”
स्वास्थ्य बीमा भुक्तानीको व्यवस्थापनमा आएको चुनौतीलाई पन्छाउँदै सरकारले बीमाको बाँकी भुक्तानी छिटै गर्ने बताउँदै उहाँले प्रत्येक नागरिकलाई अहिले तिरेको रु तीन हजार ५०० पनि नतिर्ने गरी निःशुल्क स्वास्थ्य बीमा गराउन कति बजेट लाग्छ भनेर अध्ययन भइरहेको जानकारी दिए ।
एमालेका अध्यक्ष केपी ओलीको गुटका रूपमा पार्टी चलेपछि विद्रोह गरेको भन्दै मन्त्री खतिवडाले भने, “नीति नभई नेता प्रधान भएको र ओलीको टाङमुनि बस्नुपर्ने भएपछि पार्टीबाट विद्रोह गरेका हाँै, ७० करोड, ओम्नी र मनोहरा कटाउँछौँ भन्ने गुण्डालाई लिएर पार्टी फुटाउने योजनामा रहेको थाहा पायौँ, त्यसैले विद्रोह ग¥यौँ ।”
केपी ओलीलाई केन्द्रदेखि सातवटै प्रदेशबाट सत्ताच्यूत गरेर देखाइदिएको भन्दै उनले भने, “बालुवाटारबाट बालकोट पु¥यायौँ, बालकोटको पनि बार्दलीमा छन्, अबको चुनावबाट ओलीलाई बार्दलीबाट बगरमा पु¥याइदिन्छाँै ।”
अबको तीन तहकै चुनावमा नेकपा समाजवादी एमालेभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै मन्त्री खतिवडाले भने, “अब एमाले राप्रपाको वैशाखी टेकेर चुनावमा जाँदैछ, हामी प्रजातान्त्रिक बाम गठबन्धन बनाएर चुनावमा जाँदैछौँ, ओली अबको चुनावमा एउटा काँधमा हलो, अर्को काँधमा सूर्य र अगाडि गाई लगाएर हिँड्ने छन्, त्यसपछि देखिने छ, पार्टीको हैसियत ।”
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङले यो सरकारमा जति बसिन्छ, त्यतिञ्जेल नराम्रो काम नगर्ने प्रतिबद्धताका साथ अगाडि बढेको बताइन्  उनले संविधानमाथि आक्रमण गरेपछि आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीलाई सत्ताबाट हटाएर प्रतिद्वन्द्वीलाई सरकारमा लगेको बताउँदै नेकपा समाजवादीको सफलता यो पनि रहेको चर्चा गरिन् ।

थपिए २९६ सङ्क्रमित

शुक्रबार देश भर थप २९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ९७२ जनामा कोरोना परीक्षण गर्दा २९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार ५३९ रहेको छन् । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत पुगेको छ ।
पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ र  ललितपुर तथा २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वीनवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।

सङ्क्रमित शून्य जिल्ला पाँच
आज सङ्क्रमति शून्य रहेका जिल्ला पाँच पुगेको छ । ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेका छन् । पछिल्लो २४ घन्टामा  ३६९ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट लाभ लिई घर फर्किएका छन् ।
योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार ५४५ जना रहेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७  प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणबाट आज पाँच जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४९४ जनाको निधन भएको छ ।
होम आइसोलेशन सात हजार ६०, संस्थागत आइसोलेशनमा ४७९, सघन उपचार कक्ष (आइसियु)मा २३१ र भेन्टिलेटरमा ५६ जना उपचाररत छन् । यस्तै आज एक लाख ७३ हजार ४९८ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ९० लाख ८१ हजार ६५४ ले पहिलो मात्रा र ७८ लाख एक हजार ५०६ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।

सुदूरपश्चिमः थप १० जनामा सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ७४१ जनाको नमूना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आरडिटी पिसीआरमा सात र एन्टिजेन विधिमार्फत तीन जनामा सङ्क्रमण देखिएको हो ।  पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा सात र एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई  र कैलालीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बिहीबार यस प्रदेशमा ११ सङ्क्रमण पुष्टि हुँदा ११ जना निको भएका थिए ।  

 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ०७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार