थप ३५१ मा कोरोना सङ्क्रमण पुष्टि

मंगलबार, मंसिर ७, २०७८

काठमाडौँ, ७ मङ्सिर । देशभर पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दश हजार १७४ को पिसिआर परीक्षण गरिएको थियो ।
योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार ६९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३७० पुगेको छ । पछिल्लो समय थप २७३ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ८९० पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट नौ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०९ पुगेको छ । कोरोनाबाट हुने मृत्यु दर १।४ प्रतिशत रहेको छ ।
त्यसैगरी पछिल्लो समय ९८ हजार ५११ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३०० रहेको छ । हाल होम आइसोलेसनमा छ हजार ८६९, संस्थागत आइसोलेसनमा ४३१, आइसियुमा २२३ र भेन्टिलेटरमा ५१ जनाको उपचार हुँदैछ ।   

सुदूरपश्चिमः थप ११ जनामा सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा मङ्गलबार थप ११ जनामा भाइरस सङ्क्रमण  पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ६१२ जनाको नमूना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आरटी पिसीआरमार्फत नौ र एन्टिजेन विधिमार्फत दुई जनामा पुष्टि भएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक  अस्पतालमा सात र महाकाली र बाजुरा अस्पतालमा एक एक  जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिमार्फत कैलाली र कञ्चनपुरका एक÷एक जनामा पुष्टि भएको हो ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर नौ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण  एक जनाको पनि मृत्यु भएको छैन । यसअघि सोमबार यस प्रदेशमा पाँच जनामा सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०८ जनाको ज्यान गइसकेको छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  २१:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार