अब ज्वागल, चाकुपाट र पाटनढोकामा चार पाङ्ग्रे सवारी निषेध

शनिबार, माघ २४, २०७७

ललितपुर । ललितपुर महानगरपालिकाले आइतबारदेखि चारपाङग्रे सवारी साधनलाई यूनएन पार्क, ज्वागल, चाकुपाट र पाटनढोका बसपार्कबाट पाटनढोका (गेट) तर्फ जान निषेध गरेको छ । सवारी चापको व्यवस्थापन सँगसँगै दुर्घटना हुन नदिन महानगरले बिहान सात बजेदेखि राति आठ बजेसम्म यी स्थानमा चार पाङग्रे सवारी साधनलाई निषेध गरेको हो । 

महानगर प्रमुख चिरीबाबु महर्जनले व्यवस्थित सहरका लगि ट्राफिक व्यवस्थापन महत्वपूर्ण भएको बताउँदै महानगरले महानगरीय ट्राफिक गुरुयोजना तयार पारेको बताए । उनले भने, ‘उक्त गुरुयोजनाअन्तर्गत यो काम महानगरले थालेको हो, चरणबद्ध रुपमा ट्राफिक व्यवस्थापनका लागि अन्य काम पनि अब अघि बढाउँछौं ।’ 
ललितपुर महानगरले महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंसँग समन्वय गरिसकेको प्रमुखले बताए । उनले उक्त रुटमा चार पाङग्रे सवारी साधन चलाउनेलाई महानगरले नगरलाई व्यवस्थित बनाउन थालेको काममा आफूले गरेको योगदानको रुपमा लिइदिन अनुरोध गरे । ललितपुर महानगरका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले यो नियमले सवारी व्यवस्थापन गर्न सजिलो हुने बताए । ट्राफिक जामका कारण हुने समस्या समाधान गर्न अब सजिलो हुने उनको धारणा थियो । 

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार