ललितपुर कांग्रेस सभापति छान्न दोस्रो चरणको मतदान भोलि  

रामकृष्ण चित्रकार र जितेन्द्रकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने 
शनिबार, मंसिर ११, २०७८

काठमाडौ, ११ मंसिर । शनिबार भएको मतदानमा सभापतिका कुनै पनि उम्मदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि नेपाली कांग्रेस ललितपुरमा आइतबार दोस्रो चरणको मतदान हुने भएको छ । सभापतिका उम्मदेवार रामकृष्ण चित्रकारले अग्रता कायम गरेका छन् । आज सम्पन्न जिल्ला अधिवेसनमा दुई प्रतिस्पर्धीलाई लाई उछिन्दै चित्रकारले अग्रता कायम गरेका हुन् । 
निर्वाचन संयोजक लोकबहादुर खड्काका अनुसार १ हजार ३ सय ३२ मत मध्ये चित्रकारले ५ सय ४ मत प्राप्त गरेका थिए भने जितेन्द्रकुमार श्रेष्ठले ४ सय ८२ मत ल्याएका थिए । सभापतिका अर्का उम्मेदवार मिनकृष्ण महर्जन ३ सय ३६ मतमा सिमित भए । खसेको मत मध्ये १० मत भने बदर भएको थियो । 
अब सबैभन्दा बढी मत ल्याउने चित्रकार र श्रेष्ठबीच भोलि फेरि प्रतिस्पर्धा हुने छ । ललितपुरमा श्रेष्ठ र महर्जन एउटै टिमबाट सभापतिमा उम्मेदवार बनेका हुन् । उनीहरू दुवैले एउटै मञ्चबाट सभापतिमा उम्मेदवारी दिएका थिए । तर, अरु पदाधिकारीमा संयुक्त प्यानल उठाएका  थिए । सभापतिमा अलगअलग उम्मेदवारी दिए पनि दोस्रो चरणमा प्रतिस्पर्धा गर्दा कम भोट ल्याउनेले सघाउने समझदारी भएको थियो । 
सभापतिका उम्मेदवार रामकृष्ण चित्रकारलाई वर्तमान सभापति मदनबहादुर अमात्य, पूर्वसांसद चन्द्र महर्जन तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको साथ छ । जितेन्द्रकुमार श्रेष्ठलाई कांग्रेस नेता प्रकाशमान सिंहको समर्थन रहेको बताइन्छ । उनलाई ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्याल, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, पार्टी सभापति निकट रहेर काम गरेका नवराज महतलगायतले साथ दिएका थिए । पूर्वराज्यमन्त्री उदयशम्शेर राणाले मिनकृष्ण महर्जनलाई समर्थन गरेका थिए । तर खसेको मत प्याटर्न हेर्दा उदयशम्शेर समर्थकको मत विभाजित भएको देखिन्छ । भोलिको निर्वाचनमा मिनकृष्ण महर्जनले जसलाई समर्थन गर्छन् उही उम्मेदवार विजयी हुने संभावना बलियो छ । मिनकृष्ण महर्जन र जितेन्द्र श्रेष्ठबीच जसले कम मत ल्याउँछ उसले बढी मत ल्याउने उम्मेदवारलाई सघाउने सहमति भएको चर्चा गरिएको थियो । निर्वाचन स्थलबाट बाहिरिने क्रममा सभापतिका उम्मेदवार मिनकृष्णले आफ्ना समर्थकसँग आफूलाई धोका भयो भनिरहेको थिए । उनको यो भनाइको आशय नेता उदयशम्शेरप्रति लक्षित थियो । राजनीतिमा संभावनाका खेल कायम रहन्छन् । अहिलेको संस्थापन पक्षले सभापतिमा तेस्रो स्थानमा रहेका उम्मेदवार मिनकृष्णसँग अर्काे चरणको सझमदारी गरी अघि बढ्न सक्ने अवस्था छ । जितेन्द्रसँगको भद्र सहमतिलाई पनि कायमै राख्न सक्ने अवस्था पनि मिनकृष्णसँग छ । शनिबार राति हुने म्याराथन वार्ताले भोलि हुने सभापति चयनको दोस्रो चरणको मतदानमा ठोस परिणाम ल्याउने छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  २०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार