सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेस ललितपुरमा समीकरण बदलिएको छ । मीनकृष्ण महर्जनले सभापतिका उम्मेदवार रामकृष्ण चित्रकारलाई समर्थन गरेका छन् । शनिबार भएको मतदानमा सभापतिका कुनै पनि उम्मदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि नेपाली कांग्रेस ललितपुरमा आइतबार दोस्रो चरणको मतदान हुँदैछ । शनिबार भएको मतदानमा चित्रकारले ५ सय ४ मत प्राप्त गरेका थिए भने जितेन्द्रकुमार श्रेष्ठले ४ सय ८२ मत ल्याएका थिए । सभापतिका अर्का उम्मेदवार मिनकृष्ण महर्जन ३ सय ३६ मतमा सिमित भए । १ हजार ३ सय ३२ मत मध्ये १० मत भने बदर भएको थियो । ललितपुर कांग्रेस सभापतिका लागि जितेन्द्रकुमार श्रेष्ठ र मीनकृष्ण महर्जन एउटै टिमबाट सभापतिमा उम्मेदवार बनेका थिए । उनीहरू दुवैले एउटै मञ्चबाट सभापतिमा उम्मेदवारी दिएका थिए । पदाधिकारीमा संयुक्त प्यानल उठाएका थिए । सभापतिमा अलगअलग उम्मेदवारी दिए पनि दोस्रो चरणमा प्रतिस्पर्धा गर्दा कम भोट ल्याउनेले सघाउने समझदारी भएको बताइएको थियो । सभापतिका उम्मेदवार रामकृष्ण चित्रकारलाई वर्तमान सभापति मदनबहादुर अमात्य, पूर्वसांसद चन्द्र महर्जन तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको साथ छ । जितेन्द्रकुमार श्रेष्ठलाई कांग्रेस नेता प्रकाशमान सिंहको समर्थन रहेको बताइन्छ । ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्याल, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, पार्टी सभापति निकट रहेर काम गरेका नवराज महतलगायतले जितेन्द्रलाई साथ दिएका थिए । पूर्वराज्यमन्त्री उदयशम्शेर राणाले मिनकृष्ण महर्जनलाई समर्थन गरेका थिए । तर खसेको मत प्याटर्न हेर्दा उदयशम्शेर समर्थकको मत विभाजित भएको देखिन्छ । आजको निर्वाचनमा मिनकृष्ण महर्जनले चित्रकारलाई समर्थन गरेकाले चित्रकार बिजयी हुने संभावना बलियो बनेको छ । शनिबार राति निर्वाचन स्थलबाट बाहिरिने क्रममा सभापतिका उम्मेदवार मिनकृष्णले आफ्ना समर्थकसँग आफूलाई धोका भयो भनिरहेको थिए । उनको यो भनाइको आशय नेता उदयशम्शेरप्रति लक्षित थियो । भनिन्छ राजनीतिमा संभावनाका खेल कायम रहन्छन्, शनिबार रात भर संभावनाकै तर्फ गतिविधि अघि बढे । संस्थापन पक्षले सभापतिका उम्मेदवार मिनकृष्णसँग वार्ता गरेपछि रामकृष्ण चित्रकारलाई समर्थन गर्ने बातावरण बनेको हो । शनिबार रातिको म्याराथन वार्ताले सभापति चयनको दोस्रो चरणको मतदानमा ठोस परिणाम ल्याउने अवस्था बनेको छ ।