सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ । भारतमा चार दिनअघि दक्षिण अफ्रिकाबाट आएका एकजना ३२ वर्षीय युवकलाई पिसीआरको रिपोर्ट पोजेटिभ आएपछि उनलाई उच्च निगरानीमा राखिएको बताइएको छ । उनलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हो कि होइन भन्ने बारेमा स्पष्ट भने भइसकेको छैन । नयाँ दिल्लीका स्वास्थ्य अधिकारीले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन् । दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको भनिएको सो भेरियन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको बताइएको छ । विश्वका अरु पनि कैयौँ देशले यो भाइरसबाट बच्नका लागि अहिलेको भन्दा थप कडा प्रतिबन्धको घोषणा गरेका प्राप्त समाचारमा जनाइएको छ । भारतको नयाँ दिल्लीमा र अरु पनि अन्तरराष्ट्रिय विमानस्थलमा विदेशबाट आउने उडानमा सतर्कता अपनाइएको छ । यहाँ अफ्रिकाबाट आउने उडान रोकिएको छ । त्यस्तै यात्रुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने गरी नयाँ मापदण्ड लागू गरिएको छ ।
भारतमा छ हजार ९०० नयाँ सङ्क्रमित
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख ५४३ मा झरेको अधिकारीले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले १० हजार ११६ जना पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ । एउटै समयमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या घट्दै गएको छ । भारतमा अहिलेसम्म तीन करोड ३० लाख १८ हजार २९९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएका छन् ।– रासस/एएनआई