सोसल मिडिया
Contact Us
युनिकोड
जेनेभा, १५ मङ्सिर । हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने भन्दै चेतावनी यसअघि पनि विश्व स्वास्थ्य संगठनले दिँदै आएको छ । यो भेरियन्ट अफ्रिकामा देखिएको भनेपछि सो भाइरसको नियन्त्रणका लागि विश्वका कतिपय देशले अफ्रिकी देशसँगको यात्रामा प्रतिबन्ध लगाएका छन् । विश्व स्वास्थ्य सङ्गठनले यो भेरियन्टले विश्वका केही क्षेत्रमा नराम्रो प्रकारले असर गर्न सक्ने र गम्भीर परिणाम निम्त्याउन सक्ने भन्दै यसबाट बच्नका लागि जन स्वास्थ्यका मापदण्ड अपनाउन बताउँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठनका निर्देशक टेड्रोस आधनाम गेब्राएससले यो नयाँ प्रजातिबाट बच्नका लागि पनि विश्वका देशलाई स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् । उनले गरिब देशमा खोपको व्यवस्था गर्न, सबै नागरिकमा खोप सर्वसुलभ बनाउन पनि माग गर्नुभयो । यो नयाँ भेरियन्ट यसै महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । प्रारम्भिक प्रमाणले यसको संक्रमण जोखिम धेरै रहेको देखाएका थिए । उक्त भेरियन्ट पत्ता लागेको बारेमा तत्कालै सार्वजनिक गरिएको भनेर विश्व स्वास्थ्य सङ्गठनका निर्देशक गेब्रिएससले दक्षिण अफ्रिकाको प्रशंसा पनि गरेका थिए । उनका भनाइ थियो कि नयाँ भेरियन्ट पत्ता लागेको कुरा समयमै दक्षिण अफ्रिकाले खबर गर्यो, समयमै भन्यो, तर उसलाई सहयोग गर्ने, धन्यवाद दिने काम गर्नुको सट्टा उसैलाई दण्डित गरेर यात्रा प्रतिबन्ध लगाइएको छ, यो राम्रो भएन ।–
जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो
जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सलाई नयाँ आगमन उडान बुकिङ बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो सङ्क्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ । ‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसन स्वीकार गर्न रोक्न एयरलाइन्सलाई आग्रह गरेका छौँ’, यातायात मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताए । विद्यमान बुकिङमा असर नपर्ने पनि उनले बताए । जापानको सरकारले पहिले नै आफ्नो सीमा सुरक्षामा कडा गरिसकेको छ । दश दक्षिण अफ्रिकी राष्ट्रबाट आउने सबै गैर–नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । भाइरसको डरले दर्जनौंभन्दा बढी देशबाट आएका नागरिक र विदेशी बासिन्दाका लागि क्वारेन्टाइन उपाय पनि कडा बनाइएको छ । जापानी अधिकारीका अनुसार ओमिक्रोनको दोस्रो केस बुधबार पेरुबाट आएका यात्रीमा पुष्टि भएको थियो । पहिलो केस, मङ्गलबार घोषणा गरियो, नामिबियाबाट आएका एक व्यक्ति समावेश थिए ।
नाइजेरियामा पनि भेटियो ओमिक्रोन
कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो बिरामी भेटिएका हुन् । दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रुमध्ये एक जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीले जनाएका छन् । नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख आइफेडायो अडेटीफाले भने, “हामीले गरेको परीक्षणबाट नाइजेरियामा पहिलो ओमिक्रोन सङ्क्रमित भेटिएको छ ।” उनले ती सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएकाको खोजी गरी उनीहरुलाई आइसोलेसनमा राखेर परीक्षण समेत गर्न लागिएको जानकारी दिए । “ओमिक्रोन विश्वभरीको चासो र सरोकारको विषय हो, त्यसैले पनि हामीले सतर्कता अपनाउनु र थप फैलिनबाट रोक्नुपर्दछ,” उनले भने । नाइजेरियामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई हजार ९७६ जनाको मृत्यु भएको र दुई लाख १४ हजार ११३ जना सङ्क्रमित भएको अधिकारीले जनाएका छन् । कतिपयले भने सरकारी अधिकारीले दिएको विवरणभन्दा धेरैको मृत्यु भएको र त्योभन्दा धेरै सङ्क्रमित भएको दाबी गरेका छन् । कोरोनाभाइरसको परीक्षण निकै कम मात्रै भएकाले पनि सङ्क्रमित भएका र मृत्यु भएकाको विवरण कम देखिएको उनीहरुको भनाइ छ ।-रासस/सिन्ह्वा