सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १५ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताए । उनका अनुसार हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परेको छैन । उनले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए । “नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ”, उनले विज्ञप्ति जारी गर्दै भनेका छन् । उनका अनुसार उक्त भेरियन्टले बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न÷गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ । केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट (द्य.१.१.५२९) साउथ अफ्रिका तथा एसियाका केही मुलुकमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको छ । मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले कोभिड–१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गई खोप लगाउन पनि अनुरोध गरेको छ ।
भारतबाट नौ लाख ७२ हजार मात्रा खोप आयो ।
कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाप्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताए । यस्तै, यही मङ्सिर २२ गते कोभ्याक्समार्फत छ लाख मात्रा खोप आउने उनले बताए । उनले नियमित रूपमा खोप आइरहेको बताए । सरकारले नियमित रूपमा खोप आउन थालेपछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ । यस्तै, बालबालिकालाई लगाउने खोप मोडर्ना यही शुक्रबार नेपाल आउने भएको छ । अमेरिकाबाट खरिद गरिएका मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आउन लागेको आपूर्ति शाखाप्रमुख ढुङ्गानाले जानकारी दिए । यसअघि बालबालिकालाई लगाउने फाइजर खोप आएको थियो । उनका अनुसार नेपालमा अहिलेसम्म दुई करोड ६१ लख ९६ हजार मात्रा खोप आइसकेको छ ।