खोटाङका सबै पालिकामा कोरोनाविरुद्ध खोप लगाइने

बिहीबार, मंसिर १६, २०७८

खोटाङ, १६ मङ्सिर । यही मङ्सिर–२२ र २३ गते जिल्लाका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक पर्ने क्षेत्रमा  खोप लगाइने छ । अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्रसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए । “स्थानीय तहमा आयोजना गरिएको खोप अभियानमा छुटेका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ”, उनले भने, “स्थानीय तहमा आयोजना गरिएको खोप अभियान सम्पन्न भएलगत्तै जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा चौबिसै घण्टा खोप उपलब्ध गराउने तयारी गरेका छौँ ।” दिक्तेलमा उपलब्ध गराइने  खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्री, जिल्ला अस्पतालले कोठा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएका छन् । खोप अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयमा सङ्घ तथा प्रदेश सरकारले उपलब्ध गराएको कोभिशिल्ड र भेरोसेल गरी दुई प्रकारका भ्याक्सिन (खोप) रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए ।  

    

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार