भारतमा पनि भेटियो दुई जनामा ओमिक्रोनको सङ्क्रमण 

शुक्रबार, मंसिर १७, २०७८

नयाँ दिल्ली, १७ मङ्सिर । कोरोनाभाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोनको सङ्क्रमण भारतमा पनि पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका दुई जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । 
“एक जना ४६ वर्षीय र अर्का एक जना ६६ वर्षीय पुरुषमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिए । 
उनीहरू सबैलाई आइसोलेसनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहसचिव अग्रवालको भनाइ छ ।
उनले अन्य कोरोनाभाइरसभन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनु परेको स्पष्ट पारे । 
अहिले विश्वभरीका २९ देशमा ओमिक्रोनका सङ्क्रमितहरू भेटिएको र उनीहरूको सङ्ख्या अहिलेसम्म ३७३ पुगेको पनि उनले जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले ओमिक्रोनको सङ्क्रमण पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २५ मा पुष्टि भएको जनाएको छ ।  
सुरुमा बी.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ओमिक्रोन नामकरण गरेको हो । 
यसलाई डब्लूएचओले उच्च सतर्कता अपनाउनु पर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशहरूले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए । 
अहिले विश्वभरका दर्जनौँ देशहरूले सतर्कतासम्बन्धी विभिन्न उपायहरू अपनाएका छन् ।

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड ४६ लाख छ हजार ५४१ पुग्यो 

भारतमा हिजो बुधबार नौ हजार ७६५ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख छ हजार ५४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले  बिहीबार जानकारी दिएको छ । 
बुधबार कोरोना सङ्क्रमणबाट ४७७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ६९ हजार ७२४ पुगेको छ । भारतमा अझै पनि ९९ हजार ७६३ सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । 
गएको २४ घण्टामा भारतमा आठ हजार ५४८ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ३७ हजार ५४ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।– रासस/सिन्ह्वा 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०७:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार