ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु भएको छैन : डब्लूएचओ

शुक्रबार, मंसिर १७, २०७८

जेनेभा, १७ मङ्सिर । कोरोनाभाइरसको नयाँ भेरिएन्टका रूपमा देखिएको ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जनाएको छ ।
विश्वभरिबाट सङ्कलन गरिएको ओमिक्रोनबाट सङ्क्रमितहरूको विवरण हेर्दा अहिलेसम्म कसैको पनि मृत्यु नभएको अधिकारीहरूको भनाइ छ ।  तर सङ्क्रमणको फैलावट भने तीव्र देखिएको पनि राष्ट्रसङ्घीय निकाय डब्लूएचओले जनाएको छ । 
डब्लूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेइरले भने, “मैले अहिलेसम्म ओमिक्रोनका कारण कसैको मृत्यु भएको थाहा पाएको छैन ।”
उनले संसारभरबाट ओमिक्रोनसम्बन्धी विवरणहरू सङ्कलन गर्ने र अध्ययन गर्ने कार्य भइरहेको जानकारी दिए । 
उनले भने, “धेरै देशहरूमा धमाधम परीक्षण भइरहेको छ । उनीहरूले सतर्कता पनि अपनाएका छन्, यसलाई विषेश तरिकाले हेरिएको छ ।” 
अहिले भइरहेको अध्ययनबाट नयाँ सूचना प्राप्त हुने र भावी योजना तथा सतर्कताका लागि सहयोग हुने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् । 
उनीहरूले ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएकाले आगामी दिनमा पनि कसैको मृत्यु नहुने अपेक्षा गर्न सकिने बताएका छन् ।– रासस/एएफपी
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  २२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार