ओमिक्रोनपछि स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ

मंगलबार, मंसिर २१, २०७८

विराटनगर, २१ मङ्सिर । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको अध्यक्षतामा जिल्ला कोरोना व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था बारेमा समीक्षासहित विभिन्न निर्णय गरेको छ ।
बैठकले हाल कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिका, युरोप तथा एसिया लगायतका मुलुकहरूमा क्रमिक रूपमा फैलिँदै गइरहेको र नेपालमा समेत उक्त भेरियन्ट फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी सरकारी कार्यालय, शिक्षण संस्था, विद्यालय, उद्योग प्रतिष्ठान, निजी क्षेत्र लगायतमा अनिवार्य रूपमा मास्क, स्यानिटाइजर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने निर्णय गरेको छ ।
धार्मिक कार्य, विवाह, व्रतबन्ध लगायतका कार्यक्रमहरू स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी गर्ने गराउने, मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा मापदण्डको सन्दर्भममा स्थानीय तहले प्रचारप्रसारको कार्यलाई थप प्रभावकारी बनाउने भएको छ । साथै कोभिड–१९ को सङ्क्रमण प्रभाव न्यूनीकरण र नियन्त्रण गर्न पूर्वतयारीका लागि जिल्लास्थित स्थानीय तहलाई अनुरोध गर्ने, भारतबाट आउने तथा लामो समय भारतमा बसी नेपाल फर्केका नेपाली नागरिकलाई सीमा नाकामा स्वास्थ्य हेल्थ डेस्कले अनिवार्य रूपमा ज्वरो लगायतका सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यकतानुसार ऐन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । यस्तै एन्टिजेन परीक्षणबाट पोजिटिभ आएका बिरामीलाई तत्काल आइसोलेसनमा बस्न लगााउने, सबै खालका सवारी साधनहरूमा यात्रुहरूले अनिवार्य मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउने र हाल भइरहेको विभिन्न राजनीतिक दलहरूको कार्यक्रमहरूमा मानिसहरूको अत्यधिक भीडभाडका कारण कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने हुँदा मास्क र स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी कार्यक्रम सञ्चालन गर्ने गराउने जस्ता बैठकले निर्णय गरेको छ ।
हाल कोभिड–१९ को सङ्क्रमण प्रदेश नं १ मा न्यून देखिए पनि नयाँ भेरियन्टको सङ्क्रमणको विषयलाई लिएर मानिसहरूमा निकै चिन्ता पनि देखिएको छ । केही मानिसहरू मास्क र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने र गराउनेतर्फ चेतना पनि अभिवृद्धि गरिरहेको पाइएको सो अवसरमा जानकारी दिइयो ।
ओमिक्रोन जोखिमः यातायात र विद्यालयमा स्वास्थ्यका मापदण्डमा कडाइ

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन थालिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले जिल्लामा उच्च सतर्कता अपनाउन निर्णय गरेको हो ।  
निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीको अध्यक्षता आज बसेको बैठकले उच्च सतर्कता अपनाउने र पूर्वतयारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।   बैठकले यातायातका सवारी साधन र विद्यालय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै क्वारेन्टिन र आइसोलेसन निर्माण गरी स्थानीय तहले पूर्वतयारी अवस्थामा रहन अनुरोध गर्ने, झुलाघाट नाकाबाट भित्रिने नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ रिपोर्ट आएका सङ्क्रमितलाई राख्न सदरमुकामस्थित दशरथचन्द नगरपालिकालाई आइसोलेसन निर्माण गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
जिल्ला अस्पताल बैतडीले अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक भवन निर्माण यथाशीघ्र गर्ने र मौज्दात रहेका अक्सिजन सिलिण्डरलाई तयारी अवस्थामा राख्ने, पठनपाठन सुचारु राख्दै कोभिड–१९ को स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालन गर्ने र सार्वजनिक सवारी सञ्चालनको लागि कोभिड–१९ जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र सञ्चालन गर्न यातायात व्यवसायीलाई पत्रचार गर्ने र  सोको अनुगमनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय भएको छ ।  
भारतमा तीव्ररूपमा फैलिएको ओमिक्रोनको जोखिम बैतडीमा पनि रहेकाले पूर्वतयारी गर्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । बैतडीमा हाल चार जना मात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।  

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  २२:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार