सभापतिको मत गणना सुरु, तीन घण्टा भित्र नतिजा आउने 

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं, २८ मंसिर  । नेपाली कांग्रेसको १४ औं महाधिवशेन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमबार अबेर सम्पन्न मतदानको मत गणना सुरु भएको छ । मतदानमा ४ हजार ६७९ मत खसेको छ । महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधि थिए । ६४ जनाले मतदान गरेनन् । 
अहिले बिहानदेखि काठमाडौंको प्रदर्शनीमार्गस्थित सभागृहमा सभापति पदमा मत गणना भइरहेको छ । तीन ठाउँमा गणना भइरहेको छ । मत गणना कार्य तीन घण्टामा सकिने अनुमान निर्वाचन समितिको छ । 
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।
कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
आइतबार राति १०.३० बजेसम्म मतदान 
१४औँ महाधिवेशनअन्तर्गत सोमबार बिहान ११ः४५ बजेदेखि सुरु भएको मतदानको समय दोस्रो पटक थप गरी राति साढे १० बजेसम्म पुर्याइएको थियो । सोमबार बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाइका कारण झण्डै चार घण्टापछि मात्र सुरु भएको थियो ।  निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी सोमबार राति  १०.३० बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।  कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार