सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २८ मङ्सिर । देशभर पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार ७०९ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २४ हजार ७६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ८४५ पुगेको छ । पछिल्लो समय थप ३६२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख सात हजार ५१६ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट दुईको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५९ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी, पछिल्लो समय दुई लाख ३६ हजार ४८२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८९ जना छ । सुदूरपश्चिममा थप १२ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट ३६९ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पिसिआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा नौ र महाकाली अस्पतालमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट बैतडी र कैलालीमा एक एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै विगत २४ घण्टामा प्रदेशभर ६ जना कोरोनाबाट निको भएका छन् । सो अवधिमा सुदूरपश्चिममा कोरोनाबाट एक जनाको ज्यान गएको छ । यसअघि सोमबार सो प्रदेशमा नौ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ६१२ जनाको मृत्यु भइसकेको छ ।
कर्णालीमा ३३ प्रतिशतलाई कोरोना खोपको पूर्ण मात्रा
कर्णाली प्रदेशमा १० लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार लक्षित उमेर समूहका १० लाख ३३ हजार १९९ जनाले खोप लगाएका छन् । तीमध्ये पहिलो मात्रा ६ लाख ३३ हजार ९७६ तथा दोस्रो मात्रा तीन लाख ९९ हजार १४३ जनाले लगाएका छन् । निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार लक्षित वर्गमध्ये खोपको पहिलो मात्रा ५३ र दोस्रो मात्रा ३३ प्रतिशत नागरिकले लगाएका छन् । प्रदेशमा १८ लाख ३४ हजार जनसङ्ख्यामध्ये १८ वर्षमाथिका १२ लाख नागरिक छन् । अब झण्डै दुई लाख जनसङ्ख्यालाई खोपको पहिलो मात्रा लगाउन बाँकी छ । निर्देशक डा खड्काले खोपको सहज पहुँच भएपछि अभियान प्रभावकारी हुँदै गएको बताए । “लक्षित समूहको लागि कोभिडविरुद्धको खोपको पहिलो र दोस्रो मात्राको अभियान प्रदेशका सबै जिल्लामा चलिरहेको छ”, उनले भने, “बाह्रदेखि १७ वर्ष उमेर समूहकालाई पनि फाइजर खोपको पहिलो मात्रा दिन थालिएको छ, हालसम्म दुई हजार बढी बालबालिकाले फाइजर खोप लगाइसकेका छन् ।” प्रदेशमा सबैभन्दा बढी डोल्पामा ७१ प्रतिशत तथा कम जाजरकोटमा ३० प्रतिशतले खोप लगाएका छन् । कर्णालीमा कोरोनाविरुद्ध कोभिशिल्ड, एष्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोनसन र फाइजर खोप लगाइएको थियो । हाल फाइजर खोप सुर्खेतमा मात्र लगाउने व्यवस्था मिलाइएको छ । यसको पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ८ गतेसम्म लगाइएको थियो । निर्देशक खड्काका अनुसार १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप लगाउने तयारी भइरहेको छ । यसैबीच, कर्णालीका सुुर्खेतबाहेक नौ जिल्लामा सो उमेर समूहकालाई मोडर्ना खोप दिन लागिएको छ । नौ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने तयारी छ । मोडर्ना खोप पुुस ४ देखि १४ गतेसम्म लगाइनेछ । विसं २०६१ मङ्सिरदेखि २०६६ सम्म जन्मेकालाई यो खोप दिन लागिएको हो ।