सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर : वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मृत्यपछि शरीर दानको घोषणा गरेका छन् । । शुक्रबार ललितपुर महानगरपालिकामा नई प्रकाशनले आयोजना गरेको कार्यक्रममा जोशीले आफ्नो र पत्नी राधादेवीको भौतिक शरीर मृत्युपछि किष्ट मेडिकल कलेजलाई अध्ययनको लागि दान दिएको घोषणा गरे । चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिन लागेको उनले बताए । एक सय एक वर्षमा हिँडिरहेका संस्कृतिविद् जोशीले भने, ‘मेरो शरीरको अङ्ग अन्य व्यक्तिलाई काम लाग्न सक्छ, मेरो दीर्घ जीवनको कारण पत्ता लगाउन मेरो शरीरमा अध्ययन गर्न सकिन्छ भनेर यो निर्णय गरेका हौं ।’ चिकित्सा विज्ञान वर्षौको अध्ययन र अनुसन्धानबाट अहिलेको अवस्थामा आइपुगेको बताउँदै उनले अनुसन्धानको प्रत्येक क्षेत्रको लागि महत्वपूर्ण हुने स्पष्ट पारे । जोशीकी पत्नी राधादेवी अस्वस्थ भएकोले घोषणा कार्यक्रममा उपस्थित हुन सकेकी थिइनन् । जोशीले कला संस्कृति विना जीवन निरस हुने बताउँदै सडक र ढल बन्नु मात्रै विकास नभएको स्पष्ट पारे । उनकी पत्नी राधादेवी अहिले ९७ वर्षकी भइन् ।
कार्यक्रमका प्रमुख अतिथि चिरीबाबु महर्जनले मृत्युपछि शरीर दानको घोषणा अत्यन्तै महत्वपूर्ण भएको बताए । नेपालको कला संस्कृतिको संरक्षणमा जोशीले पु¥याएको योगदानको सम्मान गर्दै महानगरले जोशी एक सय वर्ष पुगेको अवसरमा अघिल्लो वर्ष अभिनन्दन कार्यक्रम अयोजना गरी वर्षभरि विभिन्न कार्यक्रम गरेको बताए । महानगरले गरेका वर्षभरि तय गरेका कार्यक्रम मध्ये हुलाक टिकट र सिक्का प्रकाशनसम्म भइरहेका छन् । त्यसैगरी सत्यमोहन जोशीद्धारा लिखित पुस्तक समेत महानगरले प्रकाशित गरेको छ । जसको विमोचन केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।यसका साथै राष्ट्रपति भण्डारीले सत्यमोहन जोशीको तस्बिर अंकित हुलाक टिकट सार्वजनिक गरेकी थिइन् । जीवित हुँदा नै हुलाक टिकट प्रकाशित हुने सत्यमोहन जोशी पहिलो नागरिक हुन् । यसअघि ललितपुर महानगरपालिकाकै समन्वयमा नेपाल राष्ट्र बैंकले जोशीको तस्बिर अंकित सिक्का सार्वजनिक गरेको थियो । नई प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले सत्यमोहन जोशीले मृत्युपछि शरीरदानको निर्णय अत्यन्तै महत्वपूर्ण भएको बताउँदै जोशीको महानताको प्रसंशा गरे । उनको यो निर्णय नयाँ पुस्तालाई हौसाला मिल्ने दाबी प्रसाईको छ । नई प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईलेको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.बालमानसिंह कार्र्कीले जोशीको निर्णयको प्रसंशा गर्दै चिकित्सा विज्ञानको क्षेत्रमा जोशीले गरेको शरीर दानको निर्णय कोशेढुंगा सावित भएको बताए । किष्ट कलेजको चिकित्सक टोलीले दम्पत्ती नियमित स्वास्थ्य जाँच समेत गरेको कार्कीले जानकारी दिए । दम्पत्ती जोशीको हस्ताक्षर सहितको किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मंजुरीपत्रमा जोशीका छोरा अनुराज जोशीको सहमति सहितको हस्ताक्षर रहेको छ ।