सोसल मिडिया
Contact Us
युनिकोड
सर्लाही, २९ मङ्सिर । पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिण वाग्मती नगरपालिका– १२ मा निर्माणधीन अवस्थामा रहेको वाग्मती फिचर फन तालमा आन्तरिक तथा बाह्य पर्यटकको बढेका छन् । वाग्मती–१२ मा निर्माणाधीन अवस्थामा रहेको मानवनिर्मित वाग्मती फिचर फन तालमा घुम्न दैनिक एक हजारभन्दा बढी पर्यटक आउन थालेका छन् । करिब १२१ बिघा क्षेत्रफलमा निर्माणधीन अवस्थामा रहेको वाग्मती फिचर फन ताल निर्माणकै चरणमा करिब रु ६० करोड खर्च भइसकेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार चुरेकै काखमा रहेको उक्त तालमा हाल १० सिट क्षमताका छ मोटरबोट सञ्चालन भइरहेका छन् । निर्माण सम्पन्न भएपछि ३५ सिट क्षमता भएको जेटबोटसमेत सञ्चालन गरिने छ । ताल पूर्णरूपमा निर्माण हुन अझै करिब छ महिना लाग्ने भए पनि तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिदै गरेका हाँस र तालमा सरर गुडिरहेका मोटरबोटले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याएको छ । तालमा घुम्न आउने पर्यटकको चाप अहिले नै बढ्न थालिसकेको वाग्मती इन्टरटेन्डमेन्ड प्रालिले जनाएको छ । अहिले तालमा रहेका बोटमा यात्रा गर्ने तथा ताललाई नजिकैबाट नियाल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने र टिकटक बनाउने पर्यटकको सङ्ख्या बढिरहेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन । उनका अनुसार सो ताललाई प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा निर्माण गर्ने लक्ष्यका साथ नगरपालिकाले ताल निर्माणको काम गरिरहेको छ । तालमा दैनिक एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका नगरपालिकाले जनाएको छ । तालको नजिकै सुमेरु पर्वत, मिनि नेपाल र शिवमूर्ति बनाउने योजनाका साथ काम भइरहेको छ । तालको बीचमा रिसोर्ट निर्माणाधीन अवस्थामा छ भने तालको वरिपरि नगर बगैँचा तथा घेराबेराको काम पनि भइरहेको छ । तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले रु दुई सयको टिकट काटिसकेपछि तालमा घुम्न थाल्दा आफूलाई पोखराको फेवाताल घुमेको महसुस भएको सुनाउने गरेका छन् । तालको सौन्दर्य बढाउनका लागि हाँस पालन, वरीपरी फुल लगाइएको र तालको बिचमा रिर्साेटसमेत निर्माण गरिएको छ । अबको करिब छ महिनामा ताल निर्माणको काम सम्पन्न गर्ने तयारीका साथ नगरपालिकाले काम गरिरहेको छ । पूर्णरूपमा ताल निर्माण भई नसक्दै करिब एक हजार जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी समेत पाएका छन् । तालको निर्माण सम्पन्न भएपछि नगरका करिब एक हजार ५०० स्थानीय युवाले रोजगारी पाउने र नगरको पनि आन्तरिक आयस्रोत बढाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले बताए । तालमा सजावट र रिसोर्टको काम तीव्रगतिमा भइरहेको छ । नेपालकै सबैभन्दा ठुलो मानवनिर्मित तालको सम्पूर्ण काम सकिएपछि दैनिक करिब पाँच हजार आन्तरिक तथा बाह्य पर्यटक ल्याउने नगरपालिकाको लक्ष्य छ । तालको गहिराइ १५ देखि ४५ फिटसम्म गहिरो छ । जोखिम रहेकाले उक्त तालमा मानिसलाई पौडी खेल्न र माछा मार्न निषेध गरिएको छ । साथै केही समयपछि उक्त तालमा माछापालन पनि गर्ने नगरपालिकाले योजना बनाएको छ । नगरपालिकाले नगर बगैँचा र फनपार्कसमेत निर्माण गरिरहेको छ । नगरवासीलाई रोजगारी पनि दिने र नगरको आन्तरिक आयस्रोत बढाउने लक्ष्यका साथ ताल, नगर बगैँचा र फनपार्क निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । सडक निर्माण, स्तरोन्नति मात्र विकास नभइ आन्तरिक आयस्रोत बढाउने र रोजगारी सिर्जना गरी स्वारोजगार बनाउने योजना ल्याउनु नै विकास रहेको नगरका जनप्रतिनिधिको निष्कर्ष रहेका कारण नगरको आन्तरिक आयस्रोत बढाउन र नगरका बेरोजगार नागरिकलाई रोजगारी सिर्जना गर्ने काम गरिएको जनप्रतिनिधिले जनाएका छन् ।–रासस