कांग्रेस उपसभापति पदको मतगणना जारी, धनराजलाई विजय गच्छदारले उछिने

बुधबार, मंसिर २९, २०७८

काठमाडौँ, २९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । मतगणना पार्टी केन्द्रीय कार्यालयमा आज साँझ ६ः१५ बजेदेखि सुरु भएको हो । मत गणना सभापति निर्वाचित शेर बहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का तथा विजयकुमार गच्छदारले अग्रता लिएका छन् । सुरुदेखि शीर्ष दुईमा परेका धनराज गुरुङ अहिले केही मतले पछाडि परेका छन् । पार्टी कार्यालय, सानेपामा भइरहेको मतगणनामा हालसम्म ३५५८ मत गणना भइसकेको छ । शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार सहेका खड्काले १६३४ मत पाएका छन् भने गच्छदारले १४४३ मत पाएका छन् ।
डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका धनराज गुरुङले १४३७ र चन्द्र भण्डारीले १२५७ मत पाएका छन् । सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत पाएको पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । 
मतगणना तीन स्थानमा गरिएको छ ।
सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिएका थिए । जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  २३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार