सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १ पुस । नेपाली कांग्रेसको उपसभापतिमा कार्यकर्ताले अपेक्षा गरे अनुसारकै मतदान गरेको पुष्टि भएको छ । उपसभापति पदमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्री पूर्णबहादुर खड्का र डा. शेखर कोइराला प्यानलबाट धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार राति सार्वजनिक भएको मत परिणाम अनुसार सभापति देउवा पक्षका उम्मेदवार खड्का र शेखर पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाए । त्यस्तै गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए । १४ औं महाधिवेशनमा खड्का र गच्छदार देउवा प्यानलबाट, गुरुङ र भण्डारी शेखर कोइराला प्यानलबाट, सुजाता कोइराला प्रकाशमान सिंह प्यानलबाट र दिव्यश्वरी शाह विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका थिए । आचार्यले कुनै प्यानलमा नरही उम्मेदवारी दिएका थिए । काँग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । महामन्त्री पदको मतगणना बिहीबार विहान ८ बजेदेखि हुनेछ । महामन्त्रीमा युवा पुस्ताको उपस्थिति बलियो छ । देउवा प्यानलबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल, शेखर प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा चुनावी मैदानमा छन् । यहाँ पनि क्रस प्यानलका उम्मदेवार विजयी हुने अपेक्षा गरिएको छ ।