सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, १ पुस । ललितपुर महानगरले कोराना प्रभावित परिवार शुक्रवारबाट आर्थिक सहायता वितरण गर्ने भएको छ । १०३ औं स्थापना दिवसको दिन पारेर महानगरले कोरोना प्रभावितलाई आर्थिक सहायता वितरण सुरु गर्न लागेको हो । ऐतिहासिक र सांस्कृतिक नगरको परिचय बनाउन सफल ललितपुर महानगरले प्रत्येक वर्ष पुस २ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । महानगर प्रमुखको संयोजकत्वमा गठित महानगरीय विपद् व्यवस्थापन समितिले कोरोना प्रभावित परिवारलाई आर्थिक सहायता वितरण गर्ने निर्णय यसअघि नै गरेको थियो । समिति बैठकले कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई प्रतिमृतक एक लाख २० हजार, भेन्टिलेटर र आइसियुमा रहेर कोरोना उपचार गराई निको भएकालाई जनही ६० हजार, अस्पताल भर्ना भई कोरोनोको उपचार गराएका प्रत्येकलाई बढीमा ३० हजार दिने निर्णय गरेको महानगरप्रमुख चिरीबाबु महर्जनले शब्दपाटीलाई जानकारी दिए । उनले भने, ‘हामी नगरवासीको सुख, दुखका साथी हौं, उहाँहरुलाई केही सहयोग होस् भनेर यो निर्णय गरेका हौं ।’ उक्त बैठकले आर्थिक वर्ष ७७-७८ बाट कोरोनाका कारण प्रभावित भएकाहरुलाई आर्थिक सहायता दिने निर्णय गरेको थियो । यसैबीच महानगरले स्थापना दिवसको अवसरमा २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम राखेको छ । ऊर्जामन्त्री पम्फा भुषालको प्रमुख आतित्थ्यता आयोजना हुने औपचारिक कार्यक्रमअघि प्रभातफेरीको कार्यक्रम राखिएको छ ।