सोसल मिडिया
Contact Us
युनिकोड
टीकापुर, २ पुस । टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । सरकारले टीकापुरसहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ । नगरपालिकाले अबको पाँच वर्षमा टीकापुरलाई क्षयरोगमुक्त बनाउने गरी काम थालेको छ । क्षयरोग निवारणका लागि टीकापुरसहित नेपालका २२ पालिका छनोट भएका छन् । जसमा सुदूरपश्चिमका तीन पालिका छन् । कैलाली क्षयरोगको उच्च जोखिममा रहेको जिल्लामा पर्छ । “स्थानीय साधन र स्रोतको प्रयोग गरेर क्षयरोग निवारणका लागि पहिलो चरणमा कैलाली जिल्लाको टीकापुर, कञ्चनपुरको कृष्णपुर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका छनोट भएका छन्”, टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले भने, “क्षयरोग मुक्त गर्न चुनौती धेरै छन् तर हामी पाँच वर्षीय योजना बनाएर काम गर्न थालेका छौँ । क्षयरोग मुक्त पालिका बनाउन प्रतिवर्ष प्रति रु १० लाखमा १ भन्दा कम बिरामीको सङ्ख्या भएमा अन्त्य भएको मानिने छ । क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगरप्रमुखको संयोजकत्वमा नगर उपप्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको टोली र वडास्तरमा समेत समिति गठन गरी काम सुरु गरिएको छ ।
कार्यक्रमअन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शङ्का लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य थालेको छ । “सुदूरपश्चिममा क्षयरोगको बढी जोखिममा रहेको जिल्ला कैलाली हो । सङ्घीय सरकारले टीकापुरलाई छनोट गरेको छ”, स्वास्थ्य संयोजक रावलले भने, “गत वर्ष यहाँ ११४ जना क्षयरोगी उपचारमा थिए । यस वर्ष ५३ जना नयाँ बिरामी फेला परेका छन् । हरेक वर्ष सयौँको सङ्ख्यामा क्षयरोगको समस्या देखिन थालेकाले अब निवारणका लागि अभियान थालिएको हो ।” नगरपालिकाले पाँच वर्षमा क्षयरोग मुक्त गर्ने गरी पञ्चवर्षीय योजना बनाएर काम थालेको छ । सरकारले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपाललाई क्षयरोग मुक्त बनाउने अभियानअन्तर्गत थालेको छ । नगरपालिकाले भने वडा नं ३ बाट अभियान सुरु गरेको छ ।