सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २ पुस । सडक विस्तार सुरु भएको छ वर्षमा पनि पूरा नभई जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अलपत्र हुँदा स्थानीयवासी एवं यात्रु धुलोले हैरान भएका छन् । आर्थिक वर्ष २०७५/२०७६ मा सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी यो सडक छ वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विलस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो । यो सहमति भएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम नसक्दा हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीयवासी समस्यामा परेका हुन् । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका लक्ष्मण खतिवडा विसं २०५६ देखि नै जीर्ण रहेको सडक विस्तार गरेर बनाउन सुरु भएको छ वर्ष पूरा हुँदा पनि काम नसकिँदा समस्या भएको बताए । विभिन्न दलका नेताले सडक बनाउँछु भन्दै भाषण गर्ने गरे पनि काम भने नभएको उनको गुनासो छ । सडक किनारको घरमा बस्न नसक्ने भएपछि दैनिक दुई घण्टा पानी हाल्नु खतिवडाजस्ता सयौँको दैनिकी भएको छ । निर्माण व्यवसायीले सडक निर्माण जिम्मा लिने बेलामा गरिने सम्झौतामा वातावरणीय क्षति नगरी काम गर्ने गरे पनि कार्यान्वयन हुँदैन । सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाजस्ता सरोकार भएका निकायले पनि यसमा ध्यान दिएका छैनन् । धुलोले घरमै बस्न नसक्ने भएपछि खतिवडामात्र होइन सडक किनारका दर्जनौँ स्थानमा स्थानीयवासी पानी हालिरहेका भेटिन्छन् । नगरपालिकाको वडा नं २ नयाँपाटीमा क्लिनिकसहित सामुदायिक स्वास्थ्य केन्द्र चलाइरहनुभएका डा रोशन पोखरेल सडकमा उड्ने धुलोकै कारण दैनिक दर्जनौँ घाँटी दुख्ने, घाँटी खसखसाउने समस्या लिएर आउने गरेको सुनाए । धुलोले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएपनि समस्या समाधानमा सरोकार भएका निकायले ध्यान दिएका छैनन् ।