सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गण, जहाँ, शनिवार आयोजक र निम्तालु सबै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रतिक्षामा थिए । एकसय एक वर्षमा हिँडिरहेका सत्यमोहन, महानगरप्रमुख चिरीबाबु महर्जन र नई प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंंको बीचमा थिए । तीनैजना कार्यक्रम स्थलतिर आउँदै थिए । महर्जन र प्रसाईंं सत्यमोहन जोशीकै लयमा हिँडिरहेका थिए । हिँड्दा उनीहरु जोशीलाई सावधानीपूर्वक नियालिरहेका थिए ।
यो कार्यक्रम छलफल, उद्घाटन, बैठक थिएन । घोषणा सभा भनिएको थियो । सय वर्ष पुगेका ख्यातिप्राप्त एक व्यक्तिले आफ्नो र आफ्नी जीवनसंगिनीको शरीरका बारेमा मृत्युपछिको घोषणा गर्दै थिए । हो, यो सभामा उनले आफ्नो शरीर आँखा, मिर्गौला अर्को मान्छेलाई काम लाग्न सक्छ, किन डडाएर खरानी हुन दिने ?’ झण्डै आधा घण्टा धाराप्रवाह बोलेका उनको अनुहार तेजिलो थियो । प्रत्येक वाक्यले सकारात्मक भाव महसुश गराउँथ्यो । चिकित्सा विज्ञान त्यतिकै आजको अवस्थामा नआएको उनले बताए । धेरै वर्षको अध्ययन र अनुसन्धानपछि चिकित्सा विज्ञानले फड्को मारेको निष्कर्ष उनको थियो । आफ्नो मृत शरीर चिकित्सा विज्ञानका विद्यार्थीले अध्ययन र अनुसन्धानका लागि प्रयोग गर्न सकून् भन्दै दान दिएको उनले बताए । उनले भने, ‘मेरो दीर्घ जीवनको कारण के रहेछ, त्यो पनि अध्ययन गर्न सक्नु हुन्छ उहाँहरुले मेरो शरीरमा ।’ सत्यमोहन जोशीले यसो भनिरहँदा, कार्यक्रमका सहभागी सबैले संस्कृतिविद् जोशीको महानतालाई मुक्त कण्ठले प्रसंशा गरिरहेको सजिलै अनुमान लगाउन सकिन्थ्यो । कार्यक्रममा उनले समाजको कुरा गरे । संस्कृतिको बारेका बताए । आफूले पाएको सम्मान व्यक्तिको लागि नभएको बताए । कला साहित्य र संस्कृतिप्रतिको सम्मान भएको बताए । चिल्ला सडक र ढल बन्नु मात्रै विकास होइन भने । यदि संस्कृति नहुँदो हो त, जीवन निरश हुने तर्क राखे उलने । सत्यमोहन जोशीलाई भेट्नेहरु, उनीसँग कुरा गर्नेहरु भन्छन्, ‘उनी इन्साइक्लोपेडिया हुन् ।’ हुन पनि हो, उनी धेरै वर्ष पहिलाका कुरा सम्झन्छन् । फेरहिस्त लगाउन सक्छन् । तर, आफ्नो सम्झना शक्तिबारे उनको मूंल्याकन यस्तो छ,‘ मेमोरी कम हुँदै गयो ।’ केही महिना अघि भेट्दा मैले उहाँलाई सोधेकी थिएँ ‘इन्साइक्लोपेडिया भन्छन् नि यहाँलाई धेरैले ।’ यो प्रश्नको उत्तर यसरी दिएका थिए । ‘अरुले त भन्छन्, तर मलाई त्यस्तो अनुभव भएको छ ।’ केही दाँत झरे । तर, नक्कली हालेको छैन । चपाउन समस्या छैन । मधुमेह, उच्च रक्तचापको औषधि अहिलेसम्म खानुपरेको छैन । यसको मुख्य कारण तनावरहित जीवन हो भनेका थिए त्यतिबेला उनले । सकेसम्म उनी तनाव हुने गरी काम गर्दैनन् । तनाव आइलागे, त्यसको व्यवस्थापन गर्छन् । चिन्ता छाडेर, चिन्तन गर्नु दीघार्यू र राम्रो स्वास्थ्यको आधार हो भन्छन् सत्यमोहन जोशी । त्यत्ति मात्रै होइन, जीवनरुपी रथलाई यो उमेरसम्म पनि ठीक लिगमा राम्रोसँग हिँडाउन सक्नु सक्रियता हो । यो कार्यक्रममा पनि उनले अरनिको बारेमा अध्ययन गर्न चीन पुगेको कुरा हिजो अस्तीको झैं गरी सम्झिए । घरमै बसिराख्न उनलाई मन लाग्दैन । त्यत्तिकै बसिराखे शरीर न हो, फलाममा जस्तै खिया लाग्न सक्छ । एक महिना अघि उनी बिरामी भए । त्योे बेलाको बिरामीले कमजोर महसुश गराएको थियो । अरामले फेरि उनी बलियो बनाएको अनुभव गर्छन् । अचेल पत्रिकाका मसिना अक्षर ठम्याउन गाह्रो भएको छ । पत्रिकाको हेडलाइन पढ्न समस्या छैन । समाचार पढ्न चस्माले पनि भ्याउन छाड्यो । पढ्नै पर्ने भए आइग्लासको सहयोग लिन्छन् । त्यसो त उनलाई समाचारका सानातिना विषयले छुदैन ।
भगटेको भकुण्डो पाटनको बखुम्बहालमा जन्मिएका सत्यमोहनको बाल्यकाल त्यहीँ बित्यो । अहिलेका केटाकेटीलाई जस्तो भन्ने बित्तिकै खेलौना कहाँ पाउनु ! भगटेको भकुण्डो खेल्थे । तेलकासा, लठ्ठीकासा धेरै खेले उनले । पाँच वर्षको उमेर, श्रीपञ्चमीको दिन । उनलाई बाले पण्डितजी कहाँ लगेर ॐ नमः बागेश्वराय लेख्न लगाए । केही समयपछि भाषा पाठशालामा लगेर भर्ना गरिदिए । त्यहाँ प¥यो अप्ठेरो । पढाउने मास्टर नेपाली बोल्थे । नेवारका छोरा सत्यमोहन नेपाली कम बुझ्थे । बोल्न जान्दैन थिए । भाषा नबुझेपछि पढाईमा उनको रस बसेन । चार पाँच दिन उनी मुस्किलले विद्यालयमा अडे । । सत्यमोहनका बाबु छोरालाई पढाउने विद्यालयको खोजीमा थिए । घरमै अंग्रेजी पढाए । एबीसीडी अलि अलि जानेपछि स्कुलमा भर्ना गरिदिए । विद्यालयको वातावरण पनि उनी अनुकुल भएन । शिक्षकहरु उनलाई पाठ सोध्थे । सोधेका सबै प्रश्नको उत्तर दिन सक्दैन थिए सत्यमोहन । पिटाइ खान कति हात थाप्नु । स्कुल नै जान छाडिदिए । सत्यमोहनका बाबु मोहन शमशेर कहाँ जागिरे थिए । महाराजगञ्जमा बस्ने मोहन शमशेर कहाँको जागिर पाटनबाट धान्न गाह्रो थियो, दूरीका हिसाबले उनका बाबुलाई । त्यसैले उनी महाराजगञ्जमै डेरा लिएर बस्न थाले । डेरामा बाबुका साथी थिए, सत्यमोहन । भात पकाउन सहयोग गर्थे । पानी बोकेर ल्याउँथे । सरसफाइ गर्थे । र, पढ्न दरबार स्कुल आउँथे । जान एक घण्टा, आउन एक घण्टा । मामाघर काठमाडौं थियो । सत्यमोहन कहिले काहिं मामाघर पनि जान्थे । सत्य मोहनको पढाई मध्यमस्तरको थियो । पढाई उत्कृष्ट बनाउन अहिले जस्तो ट्युसन पढाउने चलन थिएन । सामान्य विद्यार्थी भएरै उनले एसएलसी परीक्षा पास गरे । महाराजगञ्ज बस्दाको त्यो घटना उनको मस्तिष्कमा ताजै छ । त्यो दिन अर्थात विसं १९९० माघ २ गते घरको पेटीमा बसिराखेका थिए । सँगै साथी पनि थिए । घर अघिल्तिर बकैनाको रुख थियो । भूकम्पले रुख हल्लिएको देखेर सत्यमोहन साथीसँगै खुब हाँसेका थिए । हाँस्नुको कारण थियो, रुख नाच्यो भनेर । भूकम्प भनेको के थाहा र त्यत्तिबेला । उनकी आमा पाटनमै थिए । केही दिनकी सुत्केरी । भूकम्प लगत्तै बाबु छोरा पाटन आए । बाले त उनीकी आमाको आश मारेका थिए । ‘खै तिम्रो आमा त’ बाले आमाको आश मारेको झल्को दिने गरी सोधेको उनी सम्झन्छन् । भाग्य बलियो रहेछ सबैको । दुई तल्ला घर भत्किँदा पनि सत्यमोहनकी आमा बाँचेकी रहेछिन् ।
कलेजले रसाइदियो साहित्य रस क्याम्पसको पढाई सत्यमोहन जोशीले त्रिचन्द्र कलेजबाट सुरु गरे । संस्कृत विषय लिएर पढेका उनलाई कविताका फरक फरक छन्दले मन छोयो । साहित्यका पुस्तकले उनी लठ्ठ भए । साहित्यमा उनले जिवन्तता भेटे । खुशी भेटे । त्रिचन्द्र क्याम्पसको साइन्स ब्लकमा भाषा अनुवाद परिषद् भर्खर भर्खर खुलेको थियो त्यतिखेर । कक्षा खाली हुने बित्तिकै किताब पढ्न उनी त्यहाँ पुगि हाल्थे । महाकवि लक्ष्मीप्रसाद देवकोटा र राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सत्यमोहनले त्यहीँ चिनेका रहेछन् । साहित्यकारसँगको संगत र साहित्यप्रतिको अनुरागका कारण उनलाई नेपालको कला, साहित्य र संस्कृतिले मोहित बनायो । नेपालको कला, संस्कृतिको, संरक्षण र खोजीकै लागि उनको रुचि बढ्दै गयो । ढुङ्गा खोज्दा देवता मिले झैं भयो, सत्यमोहनका लागि जिल्ला पुगेर जिल्लावासीको सामाजिक र आर्थिक अवस्थाबारे अध्ययन गर्ने अवसर । तनहुँ र लाजुङमा खटिए । उनीले त्यो समयलाई झ्याउरे गीत र लोक लयका गीतहरुको अध्ययन गर्ने अवसरका रुपमा समेत लिए । भाकाहरु संकलन गरे । आजभन्दा भोलि भन्दा त्यसले पुस्तकको रुप लियो । त्यो पुस्तकको विस २०१४ सालमा पहिलो पटक मदन पुरस्कार पायो । ‘के खायो होला के लायो होला वनको चरीले’ कुराकानीकै क्रममा उनले यो वाक्य सुनाए । सामान्य जस्तो लागे पनि यसले व्यक्त गर्ने भाव गहकिलो छ । लोकभाकाले नेपालको वास्तविकतालाई चरितार्थ गरेको बताउँछन् तीन पटक मदनपुरस्कार पाएका जोशी । साहित्यलाई उनी भावना व्यक्त गर्ने तरिका हो भन्छन् । साहित्यले मानिसलाई सुखको अनुभूति गराउँछ । जीवनमा रस भरिदिने पनि साहित्य नै हो । साहित्य नहुने हो भने जीवन सुख्खा हुने उनी बताउँछन् । मैले एउटा भेटमा सत्यमोहनसँग ‘जीवन के हो ?’ सोधेकी थिएँ उनको उत्तर सुनेपछि जीवनप्रतिको मेरो बुझाई सतही भन्ने लाग्यो । ‘आफूलाई नै बुझ्नु हो, अनुभव गर्नु हो ।’ उनले जीवन भनेको अमूर्त भएको बताए । यो परिभाषा जीवनको उत्तरार्धमा प्राप्त हुने उनले स्पष्ट पारे । उनको पछिल्लो प्रष्ट्याईले म यो निक्र्यौलमा पुगेँ– परिभाषा उमेर, ज्ञान स्तर र परिस्थिति अनुसार फरक फरक हँदो रहेछ ।
अरनिकोलाई चिनाउने सत्यमोहन सत्यमोहन चीनस्थित पेकिङ रेडियोमा भाषा सिकाउन गएका थिए । त्यत्तिखेर उनले अरनिको बारेमा अध्ययन गरे, यसलाई उनले आफ्नो महत्वपूर्ण उपलब्धि मानेका छन् । अरनिकोलाई नेपाली भनेर चिनाउने पहिलो व्यक्ति हुन् संस्कृतिविद् हुन्, सत्यमोहन । त्यहाँको बसाईले सत्यमोहनलाई नेपाल र चीनको कला र र संस्कृतिको अध्ययन गर्ने राम्रो अवसर मिल्यो । ललितपुर महानगरपालिकाको प्राङ्गणमा शरीर दान घोषणामा बोलिरहेका सत्यमोहनले महानगर प्राङ्गणमा राखिएको अरनिकोको शालिक देखाउँदै भने, ‘नेपालका सबैभन्दा पहिलो एनआरएनए त अरनिको हुन् ।’ उनले त्यसो भनिरहँदा कार्यक्रम स्थलमा अट्टाहास भएको थियो ।
पाँच वर्षको अन्तर ससुराली र घरबीचको दूरी मुस्किलले पाँच मिनेट । तर सत्यमोहनले बिहे गर्ने केटीलाई बिहे अघि देखेका थिएनन् । सत्यमोहनकी आमा दिनको तीनपटक कृष्ण मन्दिर पुग्थिन् । सत्यमोहन १९ वर्षका थिए । आमाले आफ्ना दौतरीहरुसँग छोराको बिहे गर्ने कुरा गरिछिन् । कृष्ण मन्दिर पछिल्तिरको घरकी केटी बुहारी बनाउन सल्लाह दिए दौतरीले सत्यमोहनकी आमालाई । त्यत्तिबेला सत्यमोहनकी हुनेवाला पत्नी १४ वर्षकी थिइन् । बिहेको कुरा अघि बढ्यो । उनले राधादेवीलाई पत्नीको रुपमा भित्र्याए । ६ जना छोराछोरीमध्ये पाँच जना विश्वका फरक देशमा छन् । जेठो छोरा नेपालमै बस्छन् । राधादेवीले मधुमेहर उच्च रक्तचापको औषधि खान थालेको धेरै वर्ष भैसक्यो । हिँड्डुल गर्न होइन, उठबस गर्न समेत गाह्रो भएको छ । शरीर मोटो भएकाले ह्वीलचियरमा बस्न पनि गाह्रो छ । ९४ वर्षकी राधाको स्मरणशक्ति, श्रवण क्षमता, दृश्य शक्ति सामान्य रहेछ । दुबै जनाको ‘फुड ह्यबीट’ उस्तै रहेछ । साधारण खानेकुरा मन पराउँछन् उनी । दातभात तरकारी, एक दुई टुक्रा मासु भए पुग्छ । निन्द्रा मज्जाले पर्छ । कसरी निदाउने होला भन्दै चिन्तित हुनु पर्दैन । अहिले बेलुका पढ्न छोडे । धेरै ढिला भए राति साढे १० सम्म बस्छन् । बिहान साढे पाँचदेखि ६ बजेभित्र उठिसक्छन् । मृत्युपछिको शरीर दान घोषणा कार्यक्रममा राधादेवी उपस्थित हुन सकिनन् ।