सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली, ३ पुस । भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड र यात्रा नगर्न आग्रह गरिएको छ । ओमिक्रोनबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि भारतको सङ्घीय सरकारले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको हो । “ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिएको पाइएको छ, अनावश्यक भीडभाड र अनावश्यक यात्रा नगर्नु हुन अनुरोध छ,” सरकारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म १०१ जनामा ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । यसको सङ्क्रमण थप फैलिन नदिन कोरोनाभाइरसबाट बच्ने स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । भीडभाडमा नजाने, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुनेलगायतका कार्य गर्नुपर्ने उनीहरूको भनाइ छ । अहिले यात्रा गर्ने, भीडभाड गर्ने बेला होइन, यसमा लापर्बाही गर्नु हुँदैन, त्यसैले अत्यावश्यक बाहेकका यात्रा र भीडभाड गर्दै नगर्नु, मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
थप सात हजार ४४७ जना कोरोना सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट थप सात हजार ४४७ सङ्क्रमित भएका छन् । सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ८६९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८६ हजार ४१५ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले जनाएका छन् । गएको २४ घण्टामा भारतमा सात हजार ८८६ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ६२ हजार ७६५ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३५ करोड ९९ लाख ९६ हजार २६७ डोज खोप लगाइएको जनाइएको छ ।–रासस/एएनआई