सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ३ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । शुक्रबार पदाधिकारीमध्ये सहमहामन्त्रीको मतगणना सकिएसँगै केन्द्रीय सदस्यको गणना सुरु भएको हो । केन्द्रीय सदस्यमा शेरबहादुर देउवा समूहकी चित्रलेखा यादव निर्वाचित भएकी छन् । उनले शेखर कोइराला समूहकी गिता चौधरीलाई पराजित गरेकी हुन् । चित्रलेखाले २७३१ मत प्राप्त गर्दा चौधरीले १८८५ मत प्राप्त गरिन् । यादव ८४६ मतान्तर्ले विजयी भएकी हुन् । आज केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्र (खुला) एक सिटको मतगणना हुने भएको छ । उक्त पदमा सभापित शेरबहादुर देउवा पक्षका अर्जुनजंङ्गबहादुर सिंह र शेखर कोइराला पक्षका दीपकजङ्ग शाह उम्मेदवार छन् । पदाधिकारीमा देउवालाई बहुमत सभापति दोहोरिएका शेरबहादुर देउवालाई १३ पदाधिकारी मध्ये ७ मा विजयी भएपछि बहुमत जुटेको छ । उपसभापति पूर्ण खड्का, सहमहामन्त्रीहरू भिष्मराज आङ्देम्बे महालक्ष्मी उपाध्याय डिना महेन्द्र यादव, फर्मुल्ला मन्सुर र किशोरसिंह राठौर देउवा प्यानलबाट विजयी भएका हुन् । सभापति पछिको कार्यकारी पद महामन्त्रीमा भने देउवा प्यानलका दुबै उम्मेदवार पराजित हुँदा देउवालाई कम गर्न त्यति सजिलो भने हुने छैन । महामहन्त्री दुई पदमा देउवा पक्षका दुवै उम्मेदवार पराजय भोग्न बाध्य भए । एक महामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई देउवाले छोडेका थिए । सिटौला समूहबाट उम्मेदवार बनेका प्रदीप पौडेल र देउवा समूहका डा. प्रकाशशरण महत महामन्त्री बन्न सकेनन् । पौडेल र महतलाई डा. शेखर कोइराला प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्माले पराजित गरे । सभापतिको सहयोगी पद मानिने उपसभापतिमै देउवाका उम्मेदवार बिजय गच्छदारले जित्न सकेनन् । गच्छदार, शेखर प्यानलबाट उम्मेद्वार बनेका धनराज गुरुङसँग दुई मतले पराजित भए । सहमहामन्त्रीमा राम्रो नजिता ल्याएछि पदाधिकारीमा देउवाको बहुमत देखिएपनि उपसभापति र महामन्त्रीमा इतर समूहका नेताहरू निर्वाचित भएकाले उनलाई मनमौजी ढंगबाट काम गर्न भने पाउने छैनन् । शेखर प्यानलबाट उपसभापति गुरुङ र महामन्त्री थापासँगै सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट बद्री पाण्डे र दलित क्लस्टरबाट जीवन परियार निर्वाचित भए । उपसभापति र महामन्त्रीसहित चार पदाधिकारी शेखर प्यानलबाट आएका छन् । सिटौला निकट उमाकान्त चौधरी थारु क्लस्टरबाट समहामन्त्री निर्वाचित भए । अर्थ कांग्रेसको पदाधिकारीमा चार समूहका नेताहरु आएका छन् । पहिलो चरणमा बहुमत (५१ प्रतिशत मत) पाउन नसकेका देउवाले सभापति बन्न प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको साथ लिएका थिए । सभापतिमा उम्मेदवार बनेर ३७१ मत पाएका सिंह, २४९ मत पाएका निधि र २० मत ल्याएका गुरुङसँग देउवाले चार वर्षे कार्यकालमा सहकार्य गर्ने सम्झौता गरेका छन् । .महाधिवेशन अगाडि नै सिटौलासँग सहकार्य गर्दै एक महामन्त्री र एक सहमहामन्त्री छोडेका थिए । अब डा. शेखरको समूह छोड्दा पनि देउवाले चार नेता (सिटौला, सिंह, निधि र गुरुङ) सँग राजनीतिक निर्णयहरुमा सहकार्य गर्नुपर्नेछ । सिटौलासँग १३औं महाधिवेशनबाट देउवाले राजनीतिक निर्णयहरुमा सम्झौता गर्दै आएका छन् । १३औं महाधिवेशनमा सभापतिको प्रतिश्पर्धामा पहिलो चरणबाटै बाहिरिएका सिटौलाले बितेको पाँच वर्ष हरेक राजनीतिक निर्णयमा भाग लिँदै आएका छन् । देउवाले अहिलेको मन्त्रिपरिषदमा पनि सिटौलाको कोटाबाट उमाकान्त चौधरीलाई खानेपानी मन्त्री नियुक्त गरेका छन् । अतः पार्टीभित्र संस्थागत भएको समूहहरुसँग समन्वय गर्दै कांग्रेसको नेतृत्व गर्नु देउवालाई सजिलो देखिन्न । आफ्नै नेतृत्वमा कांग्रेसलाई पहिलो शक्ति बनाउने देउवाको आगामी यात्रा ४० प्रतिशत बढी मत पाएका डा.शेखर समूहसँगको सहकार्यले पनि निर्धारण हुनेछ । वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको साथ नपाउँदा पनि डा. शेखरले दोस्रो चरणमा १,८५५ मत पाएका थिए भने देउवाले २,७३३ मत ल्याउँदै जितेका हुन् । रामचन्द्र र शशांकको व्यवस्थापन पनि देउवाका निम्ति सजिलो छैन । सहमहामन्त्रीमा कसले कति मत पाए सहमहामन्त्रीका सवै पदको मत गणन सकिएको छ । पछिल्लो नतिजा अनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन् । राठौरले दुई हजार ५७६ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी देवराज चालिसे दुई हजार ५९ मत प्राप्त गरे । मधेसीतर्फ दुई हजार ३३० मत सहित महेन्द्र यादव विजयी भए । निकटतम प्रतिस्पर्धी रामकृष्ण यादवले एक हजार ८२० तथा अर्का प्रत्यासी रञ्जित कर्णले ४७२ मत प्राप्त गरे । मुस्लिमतर्फ मन्सुरले दुई हजार ७७६ मत र गर्दा उनका निकटतम प्रतिस्पर्धी शेख वकिलले एक हजार ८७१ मत प्राप्त गरे । यसैगरी थारुतर्फ चौधरीले दुई हजार ७६२ र उहाँका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले एक हजार ८७७ मत प्राप्त गरे । पिछडिएको क्षेत्रतर्फ पाण्डेले दुई हजार ४११ र उनका निकटतम प्रतिस्पर्धी जीवनबहादुर शाहीले दुई हजार १३३ मत तथा अर्का प्रत्याशी चेतराज बजालले ९९ मत प्राप्त गरे । यसअघि महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार र आदिवासी÷जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् । समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको थियो । कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म प्राप्त मतपरिणामअनुसार पदाधिकारीमध्ये सभापतिमा प्रधानमन्त्री रहनुभएका शेरबहादुर देउवा, उपसभापति दुई पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री दुई पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।