सोसल मिडिया
Contact Us
युनिकोड
बलेवा, ३ पुस । आज २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारिक विचलनले गाउँमा सन्नाटा छ । आप्रवासनकै कारण दक्ष उत्पादनशील जनशक्ति विदेश पालयन भएर भित्रिएको विप्रेषणले हाम्रो चुलो बलेको छ । यसको एउटा उदाहरणका रुपमा यहाँको एउटा कार्यक्रमलाई लिन सकिन्छ । एक साताअघि बागलुङ नगरपालिकाले खहरे आधारभूत स्वास्थ्य सेवा केन्द्रको भव्य उद्घाटन ग¥यो । बागलुङ नगरपालिका–३ र छिमेकी गाउँपालिका काठेखोलाको वडा नं १ का अधिकांश सर्वसाधारणलाई कार्यक्रममा खबर थियो । स्थानीय सरकार गठनपछि घर छेउमा बनेको स्वास्थ्य संस्थाको भवन उद्घाटन समारोह । आफँैले जिताएका नगरप्रमुख र वडाध्यक्ष । स्थानीय सरकारका कार्यकारी पदमा रहेका सबै त्यहाँ पुग्दा गाउँमा बस्ने जो कोहीको इच्छा थियो ‘कार्यक्रममा पुगौँ ।’ भयो पनि त्यस्तै । भवन बन्नुअघि विद्यालय र खेल मैदानको जग्गा भनेर विवादित भएको ठाउँमा गाउँका अधिकांश सर्वसाधारण पुगे तर त्यहाँ युवा देखिएनन् । खेल मैदान चाहिन्छ भनेर आवाज उठाउने युवा पनि विदेश पलायन भइसकेका छन् भने केही युवा सहर पसेका छन् । विद्यालय र खेल मैदानको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुखले युवालाई त सम्झे तर उनका कुरा सुन्ने वृद्ध, वयस्क र बालबालिका मात्रै थिए । कि त ४० वर्ष उमेर कटेका थिए भने कि वृद्ध र कि त सानो कक्षामा पढ्ने बालबालिका । सरकारी जागीरेबाहेक युवा कार्यक्रममा देखिएनन् । देशमा रोजगारीका अवसर कम छन् । स्वरोजगारमूलक व्यवसायमा समेत युवापुस्ता सन्तुष्ट छैनन् । वैदेशिक रोजगारीमा नपुगेसम्म बिहान बेलुकाको छाक टर्दैन । विदेशिएको एक जवान उमेर नघर्केसम्म घर फर्किंदैन । त्यसैले गाउँ रित्तिएका छन् । वृद्ध र बालबालिकाले मात्रै गाउँ धानेका छन् । गाउँघरमा हुने सभा, सम्मेलन हुन वा कृषि कर्म । भेला, बैठक हुन वा विकासे काम, आजभोलि युवाको सहभागिता निकै कम छ । विदेशिने प्रचलन निकै बढेकाले गाउँमा युवा देख्न कठिन हुन थालेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मी बताउनुहुन्छ । “गाउँ युवाविहिन भएका छन्”, रेग्मीले भने, “उत्पादनशील जनशक्तिको अभाव हुन थालेको छ, विदेशमा सस्तो मूल्यमा हाम्रो परिश्रम विकिरहेको छ ।” आप्रवासनले विप्रेषण भित्र्याएको भए पनि नेपाली समाजमा गहिरो गरी सामाजिक पुँजीको नाश भइरहेको वैदेशिक रोजगार बोर्डको ठम्याइ छ । अर्कोतर्फ असुरक्षित आप्रवासनका कारण हाम्रा युवाले अनाहकमा ज्यान गुमाइरहेका छन् । “तथ्याङ्क हेर्दा कहालीलाग्दो छ, पछिल्लो चार महिना राहदानी बनाउने युवाको सङ्ख्या हेर्दा उदेकलाग्दो छ”, रेग्मी भन्छन्, “स्वरोजगारीलाई जोड दिनु आवश्यक छ ।” बोर्डको तथ्याङ्कलाई हेर्ने हो भने गत आर्थिक वर्षमा मात्रै बागलुङबाट वैदेशिक रोजगारीमा गएका १७ जना युवाले उतै ज्यान गुमाए । कोभिड–१९ महामारीको चपेटामा परेर ज्यान गुमाएकाको त अझै तथ्याङ्क छैन । पाँच जना युवा अङ्गभङ्ग भएर फर्किएका छन् । उनीहरूको काम गरेर खानसक्ने अवस्था छैन । “आज विदेशमा भएका बाबुआमासँग बच्चाले चकलेट र ट्याबको आशा राखेको छ, माया ममता त एकादेशको कथा हुने भो”, सामाजिक संस्था बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले भने, “एकाध महिना घरमा आएको बाबुआमालाई बच्चाले भन्छ, हजुर फेरि जानु मलाई त्यही चकलेट, ट्याब, नाना र सामान ल्याइदिनु ।” आप्रवासनका कारण नेपालमा सामाजिक र मानसिक समस्या बढ्दो रहेको सरोकारवालाको भनाइ छ । वैदेशिक रोजगारीलाई कम गर्दै स्वरोजगारमूलक व्यवसायमा लाग्न धेरै सरकारी तथा गैरसरकारी संस्थाले कार्यक्रम त ल्याएका छन् तर आप्रवासनका कारण भइरहेको आर्थिक, सामाजिक, मानसिक र मानवीय क्षतिको न्यूनीकरण आवश्यक छ ।
वैदेशिक रोजगारले निम्त्याएको असरबारे चिन्ता वैदेशिक रोजगारका कारण समाजमा उत्पन्न हुने नकारात्मक असरबारे सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा शुक्रबार भएको कार्यक्रममा वैदेशिक रोजगारले विप्रेषण (रेमिट्यान्स), सीप र अनुभव भित्र्याए पनि सामाजिक असर पारिरहेको उनीहरूले बताएका छन् । सुरक्षित आप्रवासन परियोजना जिल्ला संयोजक रितुराम सोतीले वैदेशिक रोजगारका कारण परिवार तथा बालबच्चाबाट टाढा हुने, बालबच्चा र वृद्धा सदस्यको हेरचाहमा कमी, पारिवारिक बेमेल, विखण्डन, छोडपत्र र सामाजिक लाञ्छना, मानसिक तनावजस्ता समस्या निम्तिएको बताए । वैदेशिक रोजगारीका कारण ऋण, ठगी, कारागार, शोषण, अलपत्र, अङ्गभङ्ग र मृत्युसम्मका घटना भएका प्रशस्त उदाहरण रहेको जनाउँदै सोतीले यसलाई न्यूनीकरण गर्नतर्फ लाग्नुपर्ने बताए । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)को आयोजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारीका कारण सिर्जित सामाजिक समस्याबारे कार्यपत्र प्रस्तुत गर्दै सोतीले वैदेशिक रोजगारीका कारण सामाजिक विकृति बढ्दै गएको बताए । त्यस्तै, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले वैदेशिक रोजगारीले आर्थिक अवस्था सबल बनाए पनि सामाजिक लागत एवं विकृति निम्त्याएको बताए । उनले त्यस्ता घटना कम गर्नतर्फ समाजमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताए । वैदेशिक रोजगारबाट पाएको सीप, अनुभव र रेमिट्यान्सको सही सदुपयोग गर्नुपर्ने भन्दै आलेले शिक्षा नै समुन्नत समाजका लागि मागदर्शन भएकाले सबैलाई वैदेशिक रोगजारीबारे सही जानकारी दिनुपर्ने बताए । कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले अहिले चेतनास्तर वृद्धि हुँदै गएको बताउँदै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको सुधार गर्दै गइयो भने लैङ्गिक विभेद एवं लाञ्छना कम हुने बताउनुभयो । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)का कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरेले समाज विस्तारै परिवर्तन हुँदै गइरहेको बताउँदै सबैको सहयोगले सभ्य र सुसज्जित समाजको निर्माणमा जुट्नुपर्ने बताए । डिसेम्बर १८ अर्थात् आज पुस ३ गते ‘सचेत, सीपमूलक र सुरक्षित रोजगार, मर्यादित श्रम रोजगारको आधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाईदैछ । यसैबीच आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपुरले शैक्षिक सामग्री वितरण गरेको छ । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका एवं सम्पर्कविहीन परिवारका बालबालिकाको अध्ययनमा सहयोगका लागि शैक्षिक सामग्री वितरण गरिएको मञ्चका जिल्ला अध्यक्ष युवलाल तिवारीले जानकारी दिए । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको पूर्वसन्ध्यामा शुक्रबार कावासोतीमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा १० जनालाई पोसाक, झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो । आप्रवासी कामदार हकहित संरक्षण मञ्चले यसअघि रु एक अभियानअन्तर्गत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको मञ्चकी जिल्ला उपाध्यक्ष बालकुमारी जिसीले जानकारी दिए ।–रासस