भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका ५७ जिल्लाका विद्यार्थीलाई खोप

शनिबार, पुस ३, २०७८

काठमाडौँ, ३ पुस । सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिइन् ।  उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ । 
यस्तै खोप लगाउनेमा वाग्मती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत, लुम्बनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् । त्यस्तै कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएका छन् । ती जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म सञ्चालन गर्नेछ । 
यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सोही अवसरमा मन्त्रालयले सञ्चालन गर्दैछ । यस्तै मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ । ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । 

धमाधम लगाइँदै कोरोनाविरूद्वको खोप
यहाँ धमाधमरुपमा कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । हालसम्म १० हजार ५४४ जनालाई कोरोना भाइरसविरुद्वको खोप लगाइएको छ । जिल्लाका नौवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा जिल्ला अस्पतालबाट उपलब्ध कोरोनाविरुद्धको खोप लगाइएको हो । 
स्वास्थ्य कार्यालयले उक्त खोप लगाउने अभियान गत फागुनदेखि सञ्चालन गरिरहेको छ । खोप ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई लगाउन थालिएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मी निरु मगरका अनुसार दिपायल सिलगढी नगरपालिकामा दुई हजार तीन, शिखर नगरपालिकामा एक हजार ७१७, पूर्वीचौकी गाउँपालिकामा एक हजार १००, आदर्श गाउँपालिकामा एक हजार २६२, सायल गाउँपालिकामा ८९९, केआईसिंह गाउँपालिकामा ९३६, बोगटान फुडसिल गाउँपालिकामा ९०१, बडिकेदार गाउँपालिकामा ७३३ तथा जोरायल गाउँपालिकामा ९९३ गरी जिल्लाभरिमा कूल १० हजार ५४४ जनाले उक्त खोप लगाएका छन् ।
यहाँका नौवटै स्थानीय तहमा कूल १२ हजार ६०० जना ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिक रहेका र बाँकी रहेका अन्य नागरिकलाई क्रमिक रुपमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरणमा नागरिकहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी, वित्तीय संस्थाका प्रमुख, सुरक्षाकर्मी, पत्रकार, कर्मचारीलगायतलाई देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप लगाएको भए पनि अहिले सबै नागरिकलाई खोप लगाउन थालिएको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार