दिल्लीका कक्षा छभन्दा माथिका विद्यालय खुल्ला 

शनिबार, पुस ३, २०७८
मयुर प्लाई

नयाँदिल्ली, ३ पुस । भारतको दिल्ली प्रदेशका विद्यालयमा शनिबारदेखि कक्षा छ र त्यसभन्दा माथीका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको कार्य सुरु भएको छ । वायु प्रदूषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयमा अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो । वायु गुणस्तर व्यवस्थापन आयोगले केन्द्रीय राजधानी क्षेत्र र त्यस वरपरको क्षेत्रमा अहिले प्रदूषणको मात्रा कम भएकाले अध्ययन अध्यापन कार्य सुरु गर्न शुक्रबार सिफारिस गरेको थियो । भौतिक उपस्थितिसहित अध्ययन अध्यापनकार्य सुरु भएपनि अनलाइनबाट हुने अध्ययन अध्यापन कार्यसमेतलाई निरन्तरता दिइने अधिकारीले जनाएका छन् ।
विद्यालयका लागि घर बाहिर निस्कनु पर्दा प्रदूषणले बालबालिकालाई धेरै असर गर्ने भएकाले चिकित्सक र विज्ञको सल्लाह र सुझावका आधारमा विद्यालय बन्द गरिएको थियो । विद्यालय बन्द गर्दा विद्यालयका यातायातका साधन पनि बन्द हुने भएकाले प्रदूषण न्यूनिकरणसमेत सहयोग पुग्ने उनीहरुको भनाइ थियो । विश्वमै धेरै प्रदूषण भएको शहरको सूचीमा पर्ने नयाँदिल्लीमा प्रदूषण बढ्दै गएकोप्रति चिन्ता व्यक्त भइरहेको छ । तर ठोस सुधार हुन भने सकेको छैन । नयाँदिल्लीमा पछिल्लो प्रदूषण गत तिहारदेखि सुरु भएको हो । तिहारमा धेरै पटका पट्काएपछि सुरु भएको प्रदुषणको असर अहिलेसम्म परेको हो ।– रासस/एएनआई
 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार