स्वास्थ्यमन्त्री खतिवडाले सुरु गरे विद्यार्थीलाई खोप लगाउने कार्यक्रम 

आइतबार, पुस ४, २०७८

काठमाडौँ, ४ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका छन् ।  हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त विद्यालय मन्त्री खतिवडा आफैँले अध्ययन गरेको विद्यालय हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले खोप अभियानबाट कोही पनि नेपाली बञ्चित हुनुनपर्ने बताउनुभएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम विडारीले जानकारी दिए । 
उनलेसबै बालबालिकालाई खोप नलगाएसम्म निरन्तर रूपमा यो अभियान जारी रहने बताए । अधिकांश जिल्लाबाट खोपको व्यवस्था मिलाइएकाले स्थानीय तहमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न दलका नेताले अभियानको सुरुआत गरेको जनाइएको छ ।
सरकारले आजदेखि सातवटै प्रदेशका ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोप दिन सुरु गरेको हो । तीन प्रदेशका आठ जिल्लामा भने यही पुस १३ देखि २२ गतेसम्म फाइजर खोप अभियान चलाइने भएको छ । ती आठ जिल्लामा वागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी छ जिल्ला तथा सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेको छ । 
मन्त्रालयले पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र आगामी माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । विद्यालयलाई खोप केन्द्र बनाउने सन्दर्भमा भने जिल्लास्तरीय प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकार प्रमुख रहेको समितिले निर्धारण गरेको छ । धेरै विद्यार्थी भएको विद्यालयमा सोही विद्यालयमा र कम विद्यार्थी भए दुई÷तीन विद्यालय मिलाएर कुनै एउटा विद्यालयमा खोप लगाइने तय गरिएको हो । 
जिल्लास्थित जनस्वास्थ्य कार्यालयको समन्वयमा स्थानीय तहले विद्यालयमा अभियान सुरु भएको हो । पहाडी र दुर्गग जिल्लामा सय विद्याथी भएपछि खोप केन्द्र मानिएको छ भने तराई र शहरी ठाउँमा २०० विद्यार्थीलाई एक खोप केन्द्र मानिएको छ ।

कर्णालीका नौ जिल्लामा मोर्डना खोप लगाइँदै

सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ । 
कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा आजदेखि मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको हो । निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोर्डना खोपको पहिलो मात्रा आजदेखि यही पुस १४ गते र दोस्रो मात्रा आगामी माघ २ देखि १० गतेसम्म लगाइने जानकारी दिए । 
“साविकका गाविसमा नौ वटा केन्द्र र हालका स्थानीय तहका प्रति वडाका दुई स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याइएको छ”, उनले भने, “स्वास्थ्य कर्मचारी, शिक्षक÷शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप केन्द्रमा परिचालन गरिएको छ, विद्यालय नजाने बालबालिकालाई पनि नजिकको केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।” 
खोप लगाउन पाँचभन्दा बढी बालबालिका उपस्थित हुनुपर्ने र छ घण्टाभित्र लगाइसक्नुपर्नेछ । कोरोनाविरुद्धको यो खोप ९४ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका नौ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ । सुर्खेतमा यही उमेर समूहका दुई हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर’ नामक खोपको पहिलो मात्रा दिइएको छ ।–रासस 
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार