यी हुन् कांग्रेसको खुला केन्द्रीय सदस्यमा विजयी उम्मेदवार, अन्तिम मत परिणाम सार्वजनिक 

आइतबार, पुस ४, २०७८

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मत गणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ । पार्टीको विधानमा खुलातर्फ ३५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । तर, ३५ सिटका लागि ९९ जनाको उमेदवारी परेको थियो ।  आइतबार खुला ३५ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । शनिबार र आइतबार दुई दिनसम्म भएको मतगणनाको आइतबार साँझ मतपरिणाम सार्वजनिक भएको हो ।
खुल्ला ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमा १६ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् भने १९ जना पुरानै अनुहार दोहोरिएका छन् ।
केन्द्रीय सदस्यमा निर्वाचित नयाँ अनुहारमा अधिकांश चर्चित युवा नेताहरु छन् । निर्वाचित हुनेमा अधिकांश नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्व गरिसकेका नेताहरु छन् ।
पहिलो पटक केन्द्रीय सदस्य बन्नेमा उदयशमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल रहेका छन् । त्यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी पनि पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । केन्द्रीय कार्यसमितिमा नयाँ अनुहारमा उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे र मोहन आचार्य रहेका छन् ।
केन्द्रीय सदस्यमा निर्वाचित राणा तरुण दलका पूर्वअध्यक्ष एवं संविधान सभा सदस्य हुन् । खतिवडा पार्टी राजनीतिबाटै आएका नेता हुन् भने बस्नेत तरुण दल अध्यक्ष हुन् । काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् भने बराल नेविसंघका पूर्वउपाध्यक्ष हुन् । त्यस्तै ढुंगाना नेविसंघका अध्यक्ष हुन् । गौतम बर्दियाका निवर्तमान जिल्ला सभापति हुन् । पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।
अमात्य कांग्रेस ललितपुर जिल्लाका निवर्तमान सभापति हुन् । शिवाकोटी पत्रकार हुन् भने रायमाझी नेविसंघबाट पार्टी राजनीतिमा आएका हुन् । त्यस्तै लामा तत्कालीन फोरम लोकतान्त्रिकबाट नेपाली कांग्रेसमा आएका हुन् । घिमिरे कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुन् भने आचार्य रसुवाका निवर्तमान जिल्ला सभापति हुन् ।

को-को परे देउवा र कोइराला समूहबाट 
नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्ष हाबी देखिएको छ । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् । शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए । सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनील बहादुर थापा, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी,  गुरु बराल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित तथा मोहन आचार्य निर्वाचित भएका छन् ।  यस्तै डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट अर्जुननरसिंह केसी,
डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसी, दिपक गिरी, डो. गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम, दिनेश कोइराला तथा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।

कसले कति मत ल्याए 
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार डा. शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि खतिवडा (२,८३२), ज्ञानेन्द्रबहादुर कार्की (२,८२०), रमेश लेखक (२,७८०),  शङ्कर भण्डारी (२,७६८), जीपछिरिङ लामा (२,७०२), अर्जुननरसिंह केसी (२,६५०), जीतजङ्ग बस्नेत (२,५५७), गोपालमान श्रेष्ठ (२,५३८), मोहनबहादुर बस्नेत (२,४७६), सुनिलबहादुर थापा (२,४७२) तथा नैनसिंह महर (२,४६७) मतका साथ निर्वाचित भएका छन् । 
यसैगरी दिलेन्द्रप्रसाद बडू (२,४४१), डा रामशरण महत (२,४३४), बलबहादुर केसी (२,३८८), गोविन्द भट्टराई (२,३५०), कुन्दनराज काफ्ले (२,२७९), दिपक गिरी (२,२६५), सुरेन्द्रराज पाण्डे (२,२०१), पद्मनारायण चौधरी (२,०३८), राजिव ढुङ्गाना (१,८९६), गुरु बराल (१,८७०), संजयकुमार गौतम (१,८६७) प्रा डा गोविन्दराज पोखरेल (१,८४३), मदनबहादुर अमात्य (१,८३०), अजयबाबु शिवाकोटी (१,८११), गणेश लामा (१,७८२), दिनेश कोइराला (१,७८१), उमेशजङ्ग रायमाझी (१,७७६), इन्जिनियर मोहन आचार्य (१,७५१), डा गोपाल दहित (१,७१०) र कृष्णकिशोर घिमिरे (१,७०७) मतसहित निर्वाचित भएका छन् । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । 
पार्टीका सबै पदाधिकारीको भने शुक्रबार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ । 
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार