कोभिड महामारीबाट जनताको जीवन बचाउनु साझा दायित्व : प्रधानमन्त्री

सोमबार, पुस ५, २०७८

काठमाडौँ, ५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको बताएका छन् । कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको बताए । उनले कोभिड विरुद्धको खोप लगाउने कार्यमा धेरै प्रगति भएको तर र अझै पनि खोप जनताको घरदैलोमा पुग्न नसकेर धेरै मात्रामा स्टोरेज भएको जानकारी पाएको उल्लेख गर्दै खोप अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि एवं सरोकारवा जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । 
प्रधानमन्त्री देउवाले भने “अहिले नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको बताइएको छ, खोप अभियानलाई तीव्रताका साथ अघि बढाउन जरुरी छ, खोपबाट जनताको जीवन बचाउनु हामी सबैको कर्तव्य हो, त्यसैले चैतसम्म सबै नेपालीलाई खोप दिने हाम्रो (सरकारको) लक्ष्य हो पूर्णमात्रामा खोप दिएर जनतालाई सुरक्षित बनाउने अभियानमा सबै सक्रियरूपमा लाग्न अनुरोध गर्न चाहन्छु ।”
प्रधानमन्त्री देउवाले कोभिड विरुद्धको बुष्टर डोज लगाएमा तेस्रो भेरियन्ट पनि घटनसक्ने विज्ञले बताइरहेकाले सबैलाई पूर्ण मात्रामा खोपको सुनिश्चितता गर्न सुरक्षा निकाय, स्वास्थ्यकर्मी, राजनीतिक दललगायत सबैमा अपिल गरेका छन् । उनले कोभिडको नयाँ भेरियन्टले बालबालिकालाई पनि जोखिममा पार्ने भनिएकाले १२ वर्षमाथिका बालबालिकालाई पनि बचाउन आवश्यक रहेकाले बालबालिकासहित सबै नागरिकलाई बचाउन खोप अभियानलाई प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याए । प्रधानमन्त्री देउवाले खोप लगाएर सुरक्षित होइन्छ भनेर खोप अभियानबारे जनतमा सचेतना फैलाएर उनीहरुलाई उत्साहित बनाउन पनि अनुरोध गरेका छन् । 

खोप लिएर आएको विमान मौसम खराबीका कारण अवतरण गर्न सकेन

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । 
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए । उनका अनुसार त्यहाँबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन लागेको थियो । 
यस्तै आजै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्रा खोप आउन लागेकोे छ । कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट दिउँसो २ः३५ बजे उक्त खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताउनुभयो । नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको  छ ।

स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतलाई पहिलो मात्रा

स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड– १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा माथिको लक्षित सङ्ख्या एक लाख ६३ हजार ८४० मध्ये एक लाख ६२ हजार ३८२ जनाले पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन् ।
जिल्लामा गत शुक्रबारसम्म एक लाख १९ हजार ७८५ जनाले कोभिड– १९ विरुद्धको दोस्रो मात्रा लगाइसकेका छन् । एघार पालिकामध्ये सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा ३९ हजार ४५५ जनाले पहिलो मात्रा लगाएका हुन् । वालिङ नगरपालिकामा २८ हजार १७, गल्याङ नगरपालिकामा १८ हजार ८३, चापाकोट नगरपालिकामा १२ हजार ६३४ र भीरकोट नगरपालिकामा ११ हजार ८९७ जनाले पहिलो मात्रा लगाएका छन् ।
त्यस्तैगरी कालीगण्डकी गाउँपालिकामा १० हजार ८२६, बिरुवा गाउँपालिकामा दश हजार ३१६, हरिनास गाउँपालिकामा आठ हजार १००, आँधीखोला गाउँपालिकामा सात हजार ८३१, फेदीखोला गाउँपालिकामा सात हजार ६१४ र अर्जुनचौपारी गाउँपालिकामा सात हजार ५८२ जनाले पहिलो मात्रा लगाएका छन् । दोस्रो मात्रा लगाउनेमा सबैभन्दा धेरै (२४ हजार ५१० जना) वालिङका नगरपालिकाका छन् । 
पुतलीबजारका २४ हजार १३७, भीरकोटका  १२ हजार १०२, चापाकोटका  नौ हजार ५७, गल्याङका आठ हजार ७३४ जनाले पनि दोस्रो मात्रा लगाएका छन् । त्यस्तै कालीगण्डकीका दश हजार २०७, बिरुवाका आठ हजार ३१०, अर्जुनचौपारीका ७ हजार २४१, आँधीखोलाका छ हजार ५५९, फेदीखोलाका छ हजार ३१९ र हरिनासका दुई हजार ६०९ जनाले खोपको दोस्रो मात्रा पनि पूरा गरिसकेका छन् ।
जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सबैभन्दा धेरै खोप भेरोसिल लगाइएको प्रमुख शर्माले बताए । कोभिसिल्ड, एस्ट्राजेनेका, जोनसोन एण्ड जोनसोन खोप पनि लगाइएको छ ।
“अठार वर्ष उमेर समूहभन्दा माथिका ९९ प्रतिशत नागरिकलाई पहिलो मात्रा खोप लगाइसकेका छौं” प्रमुख शर्माले भनिन्, “दोस्रो मात्रा पनि धेरैले लगाइसकेका र बाँकीलाई लगाउने तयारी भइरहेको छ ।”
अठार वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाइसकेकाले अब आजदेखि जिल्लामा मोर्डना खोप लगाउन सुरु गरिने उनले  जानकारी दिइन् । प्रमुख शर्माका अनुसार १२ वर्षदेखि १७ वर्ष उमेर समूहका करिब २९ हजार बालबालिकालाई खोप लगाउने गरी तयारी भएको छ ।

बैतडीका बालबालिकालाई विद्यालयमै खोप

मङ्गलबारदेखि बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार  बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिइने भएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिप्रसाद भट्टले जानकारी दिए ।  
यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आगामी पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो । बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८१२ बालबालिका रहेका र उनीहरुलाई  विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गरिने भएको हो । जिल्लाभरी २५९ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेसप्रसाद भट्टले जानकारी दिनुभयो । पुस ६ गते सुरु हुने उक्त अभियान पुस ११ गते सम्पन्न हुने जनाइएको छ ।  
जिल्लाको पुर्चौडी नगरपालिका, सिगास र डिलाशैनी गाउँपालिकाका विद्यालयमा पुस ६ देखि ८ सम्म, दशरथचन्द, पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर गाउँपालिकामा पुस ७ देखि ९, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिकामा पुस ८ गतेदेखि १० र सुर्नया गाउँपालिकामा पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुने 
मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । अहिलेसम्म बैतडीमा ७५ हजार बढीले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् । यस्तै  खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ जनाले लगाएका छन् । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ । 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार